अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

ताइवानमा शक्तिशाली भूकम्प : जापान र फिलिपिन्समा पनि सुनामीको चेतावनी

बिआरटीनेपाल २०८० चैत २१ गते ६:३७ मा प्रकाशित

ताइवानको पूर्वी तटीय क्षेत्रमा आज  ७  दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । ताइवानको हुलिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले जनाएको छ ।

ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन् ।ताइवानमा गएको भूकम्पपछि जापानले ओकिनावा प्रान्तमा सुनामीको चेतावनी जारी गरेको बीबीसीले जनाएको छ । सुनामीको छाल तीन मिटर अग्लो हुन सक्ने आशंका गरिएको छ । त्यस क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा लैजाने तयारी भएको छ ।

सन् २०११ को मार्चमा तोहोकुमा भूकम्प र त्यसपछि सुनामी आउँदा शुरुमा केही सेन्टिमिटरको छाल मात्रै भए पनि पछि डरलाग्दो सुनामीमा परिणत भएको स्मरण गराउँदै त्यहाँका बासिन्दालाई सावधानी अपनाउन चेतावनी दिइएको खबरमा उल्लेख छ ।यस्तै जापानपछि फिलिपिन्समा पनि सुनामीको चेतावनी दिइएको छ । ताइवानमा भूकम्प गएपछि फिलिपिन्समा  तटीय क्षेत्र खाली गर्न निर्देशन दिईएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू