अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

सत्ता परिवर्तनपछि ठूलो संख्यामा सचिवहरुको सरुवा

बिआरटीनेपाल २०८० चैत १९ गते ६:४२ मा प्रकाशित

सरकारले झण्डै एक दर्जन सचिवको सरुवा गरेको छ । सत्ता समीकरण फेरबदल भएसँगै ठूलो संख्यामा सचिवहरूको सरुवा गरिएको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरुवाको निर्णय गरे पनि सचिवहरूले भने सोमबार पत्र पाएका छन् । केही सचिवले सोमबार आफूहरूले सरुवाको पत्र बुझेको पुष्टि गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ ।

सोमबार दिउँसो ३ बजेतिर आफूले सरुवाको पत्र बुझेको शर्माले बताउनुभयो । ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ । उहाँले आजै पदबहाली गनुृभएको छ । त्यसैगरी, प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव कृष्णबहादुर राउत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग सचिवको रूपमा सरुवा हुनुभएको छ । उहाँ केही समयअघि मात्र सञ्चारबाट वित्त आयोगमा सरुवा हुनुभएको थियो ।। सचिव राउतले सोमबार ४ बजेतिर सरुवाको पत्र बुझेको बताउनुभयो ।

उद्योग सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ । सरकारले आधिकारिक विवरण सार्वजनिक नगरिसकेकाले अन्य सचिवहरू को कहाँ सरुवा भए खुल्न बाँकी छ । फागुन २१ मा कांग्रेससहितका दल बाहिरएर एमालेसहित मन्त्रिपरिषद् पुनर्गठन भएपछि पहिलोपटक ठूलो संख्यामा सचिवहरूको सरुवा गरिएको हो ।यसअघि प्रधानमन्त्री कार्यालयमा रहेका एकनारायण अर्याललाई गृहसचिवको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू