अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

एक महिनामै एक लाख २८ हजार जनाभन्दा धेरै पर्यटक नेपाल भ्रमणमा

बिआरटीनेपाल २०८० चैत १९ गते ६:१७ मा प्रकाशित

यस वर्षको मार्चमा हवाई माध्यमबाट नेपाल भित्रिने पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गएको वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रिने पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले बढेको हो । गएको वर्षको मार्चमा ९९ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकामा यस वर्षको यही अवधिमा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन् । मार्चमा सबैभन्दा बढी भारतबाट ३० हजार छ सय ९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको सङ्ख्या १२ हजार ९३ छ ।

बोर्डका अनुसार यस अवधिमा अमेरिकाबाट १० हजार सात सय ७३, बेलायतबाट सात हजार दुई सय ४१, श्रीलङ्काबाट पाँच हजार सात सय ४१, जर्मनीबाट पाँच हजार दुई सय ५५, थाइल्यान्डबाट चार हजार तीन सय ४५, फ्रान्सबाट तीन हजार दुई सय ४० र म्यानमारबाट तीन हजार एक सय ३१ जना पर्यटक नेपाल आएका छन् । सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार सात सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकामा सन् २०२४ को पहिलो तीन महिनामा तीन लाख चार हजार छ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या ३३ दशमलव ७८ प्रतिशतले बढी हो ।

योसँगै नेपालमा पर्यटक भित्रिने क्रम कोभिड–१९ सङ्क्रमण शुरु हुनुभन्दा अघिल्लो वर्ष सन् २०१९ को हाराहारीमा पुगेको छ । सन् २०१९ को मार्चमा एक लाख १४ हजार सात सय ७९ जना पर्यटक नेपाल आएका थिए । यो सङ्ख्या सन् २०२३ को मार्चको तुलनामा एक प्रतिशतले मात्र बढी हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू