अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

वीरगञ्जबाट अनलाइन ठगीधन्दा चलाउने तीन चिनियाँ नागरिक पक्राउ

बिआरटीनेपाल २०८० चैत १८ गते ७:५४ मा प्रकाशित

चीनबाट वीरगञ्ज आएर अनलाइन ठगीधन्दा चलाउने तीन चिनियाँ नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगञ्ज महानगरपालिका १५ स्थित फ्ल्याट लिएर चिनियाँ नागरिकहरूले अनलाइन ठगीधन्दा चलाएको सूचना पाएपछि पर्सा प्रहरीले शनिवार साँझ छापा मारेको थियो । सो फ्ल्याटबाट दुई चिनियाँ पक्राउ परेका थिए । साथै सयौँ कम्प्युटरसहितका विभिन्न उपकरण पनि उनीहरुबाट बरामद भयो । शनिवार राति नै थप एक चिनियाँलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका चिनियाँ र बरामद इलेक्ट्रोनिक उपकरण जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्जले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय लिलु गुई चाइ, २६ वर्षीय वाङ बोहान र ३६ वर्षीय छिङ झाव छन् । उनीहरू नन्दु पटेलको घर भाडामा लिएर अनलाइन ठगीधन्दाको अफिस चलाएका थिए । पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाका अनुसार उनीहरूले चलाएको अवैध अफिसबाट कम्प्युटर डेक्सटप सिपियू १२० थान, मनिटर ११८ थान, मोबाइल ३५ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान, किबोर्ड २६ थान, इन्टरनेट स्वीच ५ थान, बाइफाई राउटर २ थान र मिनि इन्भर्टर २ थान बरामद भएको छ ।

पक्राउ परेका चिनियाँहरुले भारतीय मोबाइल सिम कार्ड प्रयोग गर्दै आएका थिए । उनीहरूबाट भारतीय जिओ सिम कार्ड १३ थान बरामद भएको डिएसपी थापाले जानकारी दिनुभयो । उनीहरुले सामाजिक सञ्जाल र नम्बर मार्फत भारत, नेपालसहितका देशका नागरिकलाई ठगी गर्दै आएको खुलेको छ ।  अनलाइन ठगीधन्दा चलाएका चिनियाँको नेपाली र भारतीय नागरिकसँग समेत संलग्नता रहेको प्रहरीको अनुमान छ । डिएसपी थापाले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘भारतीय कम्पनीको सिम कार्ड र गाडी छ । त्यो कहाँबाट कसरी आयो रु पक्राउ परेका चिनियाँ नागरिकले यताको भाषा बुझ्दैन । तर यो ठाउँमा कसरी आए रु यो सबै विषयमा अनुसन्धान गरिरहेका छौँ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू