अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

ऊर्जा उत्पादनमा हुने ग्यापको पूर्ति गर्न सौर्य ऊर्जाको प्रयोग गर्नुपर्नेछ : मन्त्री बस्नेत

बिआरटीनेपाल २०८० चैत १८ गते ६:४७ मा प्रकाशित

ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा वर्षायाममा भन्दा सुख्खायाममा चारगुणा कम ऊर्जा उत्पादन हुने र खपत भने उही अनुपातमा हुने हुँदा सौर्य ऊर्जाको प्रयोग गर्नुपर्ने बताउनुभएको छ । आइतवार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सौम्झौतामाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्दै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा ऊर्जा खपतको प्रकृति सुख्खा याम र वर्षा याममा एकै प्रकारको हुने भएपनि उत्पादन भने सुख्खा याममा चारगुणा कम हुने बताउनुभयो ।मन्त्री बस्नेतले यो ग्यापलाई मेटाउनका लागि नेपालमा सौर्य ऊर्जाको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यही समस्या समाधानका लागि नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा जानुपर्ने बताउनुभयो ।

‘विश्वव्यापी रुपमा जलवायु परिवर्तनको प्रभावले सिर्जना गरेका जे चुनौतीहरु छन्, त्यो चुनौतीलाई सामना गर्नका लागि क्लिन इनर्जीको क्षेत्रमा बढी काम गर्नुपर्ने आवश्यकता छँदैछ । त्यसको निम्ति अन्तर्राष्ट्रिय स्तरबाट नै यसमा काम गर्नुपर्नेछ । बाह्रै महिना हाम्रो ऊर्जा खपतको प्रकृति र प्रवृत्ति समान खालको छ । उत्पानको प्रकृति हेर्दा विशिष्ट छ । वर्षायाम र सुख्खा याममा ग्याप छ । चार गुणाको अन्तर छ । जसको प्रभाव र परिणाम वर्षा याममा बढी हुने भइराखेको छ । सुख्खायाममा आयात गर्नुपर्ने अवस्था भइराखेको छ । गत आर्थिक वर्षको हेर्ने हो भने सुख्खा याममा आयात बढी गरिराखेका छौँ । यो ग्यापलाई फिल गर्ने चुनौती ऊर्जा क्षेत्रमा छ । त्यो समस्या समाधान गर्नुपर्छ । तत्काल समस्या समाधानका लागि सोलारमा जानुको विकल्प छैन । त्यसैले यो आवश्यकता परिपूर्ति गर्न इनर्जी मिक्समा जानुपर्ने अवस्थामा छ । अहिले सोलार बढी उपयुक्त हुने देखिन्छ ।’ मन्त्री बस्नेतले भन्नुभयो ।

मन्त्री बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा हालसम्म ११८ वटा राष्ट्रले करार सम्झौतामा हस्ताक्षर गरेका र ९७ राष्ट्रहरुले अनुमोदन समेत गरिसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू