अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

मैत्रीपूर्ण टी–२० क्रिकेट- नेपालको (ए) आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित

बिआरटीनेपाल २०८० चैत १६ गते ५:४९ मा प्रकाशित

आयरल्यान्ड–उल्भ्ससँगको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालको ए टोली पराजित भएको छ । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल २१ रनले पराजित भयो ।आयरल्यान्ड–उल्भसले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको नेपाल ए १९ ओभर ३ बलमा २ सय १ रनमा अल आउट भयो । नेपालका लोकेश बमले शतक बनाए । लोकेश ५६ बलमा १ सय ६ रन बनाएर आउट भए । यस्तै आरिफ शेखले ४९ रन बनाए । टोलीले ६८ रनमा ३ विकेट गुमाएको अवस्थामा लोकेश र आरिफले ४४ बलमा १ सय २१ रनको साझेदारी गरे । आयरल्यान्ड–उल्भ्सका फियोन ह्यान्ड र म्याथ्यु हमफ्रेसले समान ३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड–उल्भ्सले २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । आयरल्यान्ड–उल्भ्सका पिटर मूरले ४९, केड कारमाइकल र कप्तान निल रकले समान ३८, स्टेफेन डोहेनेले ३४, ग्यारेथ डिलेनेले नट आउट ३० रन बनाए । बलिङतर्फ नेपाल ए का कमलसिंह ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले समान १ विकेट लिए ।

टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेल भोलि र तेस्रो खेल आउने सोमवार हुनेछ । यसैगरी नेपालको ुएु टोली र आयरल्यान्ड–उल्भ्सबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आउँदो बुधवारदेखि शुरु हुनेछ । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो ।

 

प्रतिक्रिया