अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३७ | Colorodo: 04:52

प्रचण्ड, ओली र माधव नेपालबीच भेटवार्ता

बिआरटीनेपाल २०८० चैत १२ गते ६:३७ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको अनौपचारिक भेटमा १५ वैशाखमा हुने उपनिर्वाचन, प्रदेश सरकार हेरफेर र संघीय सरकारको पूर्णताबारे छलफल भएको छ ।

२५ सदस्यीय मन्त्रिपरिषदमा दुई सदस्यको पद रिक्त छ । नेताहरूको भेटवार्तापछि सोमबार नै प्रधानमन्त्री प्रचण्डले जसपाका सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराउनुभएको छ । योसँगै मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । अब दुई राज्यमन्त्री थप गर्ने सुविधा प्रधानमन्त्रीलाई छ । आगामी १५ वैशाखमा इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । दुवै क्षेत्रमा एमालेले उम्मेदवारको टुंगो लगाएको छ । तर माओवादी केन्द्र र एकीकृत समाजवादीले उम्मेदवारबारे निर्णय लिएका छैनन् ।

गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सत्ता समीकरण बदलेर एमालेसँग गठबन्धन गर्नुभएको थियो । त्यसपछि नयाँ सत्ता समीकरणअनुसार प्रदेश सरकार हेरफेर गर्ने तयारी छ । यस सम्बन्धमा समेत शीर्ष नेताहरूबीच छलफल भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू