अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको : अध्यक्ष दाहाल

बिआरटीनेपाल २०८० चैत १२ गते ६:०८ मा प्रकाशित

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताउनुभएको छ । अध्यक्ष दाहालले आज चितवनमा पत्रकारहरुमाझ बोल्दै राष्ट्रियसभाले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा काम गर्ने बताउनुभयो । राष्ट्रियसभामा प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावनाका विषयवस्तु बनाएर छलफल गर्न सुरु गरिसकिएको र त्यहाँ छलफल भएका विषयवस्तु प्रतिनिधिसभा हुँदै सरकारसम्म पुग्ने अध्यक्ष दाहालले बताउनुभयो ।

हरेक महिनाको अन्तिम साता सातै प्रदेशका समस्या र समस्या समाधानका विषयमा राष्ट्रियसभामा छलफल सुरु गरिएको अध्यक्ष दाहालको भनाइ छ । तीनै तहका सरकारलाई जोड्ने काममा राष्ट्रियसभाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने अध्यक्ष दाहालले बताउनुभयो । राष्ट्रियसभाको महत्व धेरैले बुझ्न नसकेको बताउँदै यसको महत्व स्थापित गर्न आफू लागि पर्ने अध्यक्ष दाहालले बताउनुभयो । राष्ट्रियसभामा अधिकांश विधयेक सर्वसम्मत पारित हुने गरेको भन्दै उहाँले विगत ६ वर्षको अवधिमा राष्ट्रियसभामा चार विधेयक उत्पत्ति भएको उल्लेख गर्दै ती सबै सर्वसम्मत रुपमा पारित गरी पठाएको बताउनुभयो ।

राष्ट्रियसभामा राजनीतिकभन्दा पनि आवश्यकताका आधारमा छलफल हुने गरेको र राष्ट्रियसभाले राष्ट्रिय महत्व र सार्वजनिक महत्वका विषयलाई प्राथमिकता दिने गरेको अध्यक्ष दाहालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू