अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

कतारका अमिर तमिमले वैशाखमा नेपालको भ्रमण गर्ने, ९ वटा सम्झौतापत्रमा हस्ताक्षर हुने

बिआरटीनेपाल २०८० चैत ९ गते ६:१३ मा प्रकाशित

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले २०८१ वैशाख १२ र १३ गते नेपालको भ्रमण गर्नुहुने भएको छ । यसअघि एक पटक स्थगन भएको उहाँको नेपाल भ्रमण पुन तय गरिएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जनाएको छ । “कतारका अमिर तमिमको नेपाल भ्रमणको मिति पुनः तय भएको छ । उहाँ दुईदिनको लागि नेपाल आउँदै हुनुहुन्छ । खाडी राष्ट्रबाट नेपालमा हुन लागेको यो अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय भ्रमण हो,” परराष्ट्र मन्त्रालय स्रोतले भनेको छ ।

यसअघि कतारका अमिर तमिमले गत कात्तिक २० र २१ गते गर्ने भनिएको नेपाल भ्रमण स्थगित गर्नुभएको थियो । भ्रमणको सम्पूर्ण तयारी सकिएपछि काठमाडौंस्थित कतारको दूतावासले कात्तिक १३ गते परराष्ट्र मन्त्रालयलाई भ्रमण स्थगित गरिएको जानकारी दिएको थियो । पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन चरमपन्थी समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको काठमाडौंस्थित कतारी दूतावासले त्यतिबेला परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको थियो । त्यसपछि अहिले पुनः कतारका अमिर तमिमको नेपाल भ्रमण मिति तय गरिएको हो ।

सन् १९८० मा जन्मिएका तमिमले सन् २०१३ देखि कतारमा शासन गरिरहनुभएको छ । तमिम पूर्वअमिर हमाद बिन खलिफा अल थानीका चौथो छोरा हुनुहुन्छ। अल थानीको दोस्रो पत्नी मोजा बिन्त नासिरबाट उहाँको जन्म भएको थियो । जेठा दाई शेख जसिमले सिंहासनमा आफ्नो दाबी त्यागेपछि सन् २००३ मा तमिम उत्तराधिकारी बन्नुभएको थियो । सन् २०१३ मा उनका पिताले गद्दी त्यागेपछि उहाँ कतारको अमिर हुनुभएको थियो। उहाँले सन् २०२२ मा कतारमा फिफा विश्वकप जस्तो विश्व चर्चित खेलकुद कार्यक्रम आयोजना गरेर कतारको छवि अन्तर्राष्ट्रिय स्तरमा निकै माथि पुर्याउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू