अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८ | Colorodo: 22:43

नेपाली समाज अझै दासयुगीन मानसिकताबाट मुक्त भएको छैन– प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० चैत ८ गते ६:२० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने बताउनुभएको छ । ५९औं जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा बिहीबार राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले विभेद अन्त्य नहुँदासम्म परिवर्तनका उपलब्धि रक्षा हुन नसक्ने बताउनुभएको हो ।’संविधानमा दलित समुदायका मौलिक हकलगायत व्यवस्था सुनिश्चित गरिए पनि दलित समुदायमाथि गरिने छुवाछुत–भेदभावमा अपेक्षित कमी आउन सकेको छैन’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘ छुवाछुत विभेदकै कारण दलित समुदायमाथि अपमान, दमन, उत्पीडन, सामाजिक बहिस्कार, कुटपिट–हत्या र नाकाबन्दीजस्ता घटनाहरूमा कमी आउन नसक्नु सामाजिक लज्जाको विषय हो ‘।

प्रधानमन्त्री प्रचण्डले छुवाछुत उत्पीडनका अतिरिक्त लैंगिक विभेद, भाषिक विभेद र क्षेत्रीय उत्पीडनलगायत विभेदहरू सम्पूर्ण रूपमा अन्त्य नहुँदासम्म परिवर्तनका उपलब्धिहरूको रक्षा हुन नसक्ने बताउनुभयो । देशको राजनीतिक परिवर्तनमा दलित समुदायले महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उहाँले दलित समुदायलाई समानुपातिक प्रतिनिधित्वसहितको सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र एवं विभेदरहित समाजको निर्माणको जिम्मेवारी दिनुपर्ने बताउनुभयो ।

‘जातीय छुवाछुत तथा विभेदलाई कडा दण्डनीय अपराधका रूपमा लिई यसमा संलग्न अपराधीहरूलाई कानूनी दायरामा ल्याउनु राज्यको दायित्व हो’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘समानता र स्वतन्त्रतापूर्वक बाँच्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो । यद्यपि, मानव सभ्यताको आधुनिक युगमा पनि दासयुगीन मानसिकताबाट नेपाली समाज मुक्त हुन सकेको छैन’ ।

संविधान, ऐन तथा कानूनहरूले सुनिश्चित गरेका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सङ्घर्षको अर्को विकल्प नदेखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जातीय छुवाछुतजस्तो अपराधलाई उन्मूलन गर्न कानूनी प्रावधानहरू कडा पार्नुका साथै सामाजिक जागरण र राजनीतिक अभियान चलाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू