अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५२ | Colorodo: 22:07

आईसीसी अध्यक्ष ग्रेग बार्कले नेपालमा

बिआरटीनेपाल २०८० चैत ५ गते ६:०० मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले आफ्नो चार दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौँ आईपुग्नुभएको छ । अध्यक्ष ग्रेगलाई नेपाल क्रिकेट संघ ९क्यान० का सचिव पारस खड्कालगायतका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । आईसीसी अध्यक्ष ग्रेग भारतको नयाँ दिल्लीबाट काठमाडौँ आउनुभएको हो । उहाँ आइतबार राति सम्पन्न महिला प्रिमियर लिगको फाइनलमा सहभागी हुन भारत आउनुभएको थियो। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग छलफल गर्ने क्यानले जनाएको छ ।

यसका अतिरिक्त आईसीसी अध्यक्षले नेपाल भ्रमणका क्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीसँग पनि नेपालमा क्रिकेट विकासको विषयमा केन्द्रित रहेर छलफल गर्ने कार्यतालिका रहेको छ । आईसीसी अध्यक्ष ग्रेगले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानको निरीक्षण पनि गर्नेछन् । नेपाल भ्रमणका क्रममा उनलाई माउण्टेन फ्लाइट गराउने तयारी पनि क्यानले गरेको छ ।

नेपाली क्रिकेट टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा हासिल गरेको सफलतापछि आईसीसीले पनि नेपालको क्रिकेट विकासबारे चासो राख्न थालेको छ । यस्तो अवस्थामा भएको आईसीसी अध्यक्ष ग्रेगको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ६३ वर्षीय ग्रेग बार्कलेले आईसीसी अध्यक्षको जिम्मेबारी समाल्नुअघि क्यानडा र न्युजिल्यान्ड क्रिकेटमा कुशल प्रशासकको भूमिका निर्वाह गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू