अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 03:55

टीएनएमएद्वारा कोष अभिवृद्धि कार्यक्रम आयोजना

बिआरटीनेपाल २०८० फागुन २९ गते २०:२६ मा प्रकाशित

टेक्सास, अमेरिका । अमेरिकाको टेक्सासमा रहेका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको सङ्गठन (टीएनएमए)द्वारा सञ्चालनमा रहेको हिमालय हेल्थ क्लिनिकको सेवा नियमितता तथा स्तरोन्नतिका लागि कोष अभिवृद्धिका लागि गाला डिनर आयोजना गरिने भएको छ । यही अप्रिल ६, २०२४ मा हिमालयन क्लिनिकले आयोजना गर्न लागेको ‘फन्ड रेजिङ गाला डिनर’को बारेमा केही प्रस्ट पार्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा संस्थाका पदाधिकारीहरूले टीएनएमए, हिमालयन हेल्थ क्लिनिक र गाला डिनरलगायतका बारेमा प्रस्ट पार्नुभएको थियो । कार्यक्रममा डालस वरपर सक्रिय पत्रकारहरूको उपस्थिति थियो।

टीएनएमएका अध्यक्ष डा. सञ्जीव श्रेष्ठले २ मार्चमा टेक्सासको युलेसमा पत्रकार सम्मेलन आयोजना गरी निःशुल्क रूपमा सञ्चालित क्लिनिकका लागि मासिक कम्तीमा १० हजार डलर खर्च भइरहेको जानकारी दिनुभयो । हरेक महिनाको पहिलो र तेस्रो आइतबार बिहान १० देखि १ बजेसम्म युलेसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र परिसरमा सञ्चालन भइरहेको क्लिनिक हालसम्म समुदायको सहयोगबाट सञ्चालन भइरहेको डा. श्रेष्ठले बताउनु भयो । उक्त क्लिनिक बिमा सेवा नलिएका र आफन्त भेट्न छोटो अवधिका लागि नेपालबाट आएका नेपालीहरूलाई लक्षित गरी सञ्चालन गरिएको पनि डा. श्रेष्ठले जानकारी दिनुभयो । २५ वर्षदेखि अमेरिकामा रही कार्यरत डाक्टर श्रेष्ठले अगाडि भन्नुभयो, “क्लिनकमा प्राविधिक सेवा निःशुल्क भए पनि अमेरिकी मापदण्डअनुसारका चिकित्सा सामग्री, औषधि जुटाउन र तिनको भण्डारण आदिमा हुने खर्चको जोहो गर्न कठिनाइ भइरहेको छ ।” सो स्वास्थ्य सेवालाई सहज र विस्तार गर्नका लागि बजेटको आवश्यकता भएकाले सो गाला डिनरको आयोजना गरिएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।

टेक्सासको ग्रेपभाइन सहरमा हुने सो गाला डिनरका लागि शुल्क ५ सय डलरदेखि माथिका आठ किसिमका दर तोकिएको छ । ‘सामुदायिक स्वास्थ्यका लागि हातेमालो’ नारा दिइएको डिनरमा नेपाली कलाकारहरूको प्रस्तुति पनि रहने छ । फन्ड रेजका लागि सदस्यता अभियानको म्याद थपेर मार्च १० सम्म पुर्‍याइएको टीएनएमए कार्यालय निर्देशक लीला श्रेष्ठले जानकारी दिनुभयो । गाला सदस्य बनेबापत सो डिनरमा दुई ओटा टिकट पाउने पनि श्रेष्ठले जानकारी दिनुभयो ।

चन्दादाताहरूलाई प्रभावित बनाउने तरिकाले नेपालका ८ ओटा हिमाल पार गर्दै अन्तिममा सगरमाथा चढ्ने सुविधा रहेको छ। सुरुमा सानो चन्दा दिएर सानो हिमाल चढ्दै जाने र सगरमाथासम्म पुग्ने व्यवस्था राखिएको छ । जसमा ५ सय डलर दिएर अन्नपूर्ण, १ हजार डलरले मनास्लु, ३ हजार डलरले धौलागिरि, ५ हजार डलरले चोयु, १० हजार डलरले मकालु, १५ हजार डलरले ल्होत्से, २० हजार डलरले कञ्चनजंघा र अन्त्यमा २९०३२ फिटको उचाइलाई सगरमाथाको नामकरण गरी २९०३२ डलर चन्दा दिन सकिने छ।

क्लिनिकको सुरुवातदेखि हालसम्म ७१ हजार डलर खर्च भएको र डाक्टर र नर्सहरूले निःशुल्क सेवा उपलब्ध गराउँदा पनि हरेक पटक क्लिनिक सेवाका लागि करिब पाँच हजार डलर खर्च हुने सो कार्यक्रममा जानकारी दिइएको थियो । क्लिनिकको स्थापना सन् २०२० मा भए पनि कोभिडका कारण सन् २०२३ को मे ७ देखि सञ्चालित उक्त क्लिनिकमा चिकित्सक, दन्त चिकित्सक र नर्ससमेत गरी करिब २० जना स्वयंसेवकको रूपमा कार्यरत छन् । क्लिनिकमा हाल मेडिकल, दन्त र प्रयोगशाला सेवा सञ्चालनमा छन् ।

टेक्सासमा १ लाख १५ हजारभन्दा बढी नेपाली समुदायको बसोबास रहेको र नेपालबाट आइरहने तिनका आफन्तहरूका कारण क्लिनिकमा बिरामीको चाप बढिरहेको जनाइएको छ । सो क्लिनिक सञ्चालनमा आएदेखि सो क्लिनिक सेवाबाट ८ सय बिरामीले उपचार पाएका छन् । टीएनएमएका अनुसार टेक्सासमा हाल ७६ को हाराहारीमा नेपाली चिकित्सक र कम्तीमा ३ सय नर्स यहाँका अस्पतालहरूमा कार्यरत छन् ।

सो कार्यक्रममा हिमालयन हेल्थ क्लिनिकका उपाध्यक्ष शर्मिला श्रेष्ठ,महासचिव डा. पूजा सैंजू, कोशाध्यक्ष डा. विश्वास बिस्ट, निर्देशक डा. विश्वास उपाध्याय, निर्देशक राजकुमार श्रेष्ठ, नर्स मिनु केसीलगायतले हिमालयन हेल्थ क्लिनिकबाट प्राप्त हुने सेवा र अन्य स्वास्थ्यसम्बन्धी जिज्ञासाका बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया