अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

औपचारिक प्रस्ताव आए सरकारमा संलग्न हुन्छौं : झलनाथ खनाल

बिआरटीनेपाल २०८० फागुन २२ गते ४:१२ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताउनुभएको छ । सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले औपचारिक प्रस्ताव गरे आफ्नो पार्टी सरकारमा संलग्न भएर जानसक्ने बताउनुभएको हो । मंगलबार अपरान्ह डल्लुस्थित आफ्नै निवासमा कुरा गर्दै उहाँले सरकारमा सहभागी हुनका लागि सत्तारुढ गठबन्धनले आफ्नो पार्टीसँग सम्मानजनक ढंगले वार्ता गर्नुपर्ने शर्त समेत राख्नुभयो ।

बुधवार बिहान सो पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । नेता खनालले नीतिगत, कार्यक्रमिक, योजना र भिजनमा गठबन्धनले यसरी जान्छौं भन्ने खाका प्रस्तुत गरे सरकारमा जान कुनै समस्या नहुने प्रारम्भिक प्रतिक्रिया दिनुभयो । सरकारमा जानका लागि सत्तारुढ गठबन्धनसँग याचना नगर्ने उहाँको अडान थियो । सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले सहमतिका साथ जानका लागि गरिएको प्रस्ताव आफ्नो पार्टीले अस्वीकार नगर्ने पनि बताउनुभयो ।

सम्मानित नेता खनालले आफ्नो पार्टीले वाम एकताको पक्षमा भईरहेको प्रयत्नलाई झनै प्रखर ढंगले अघि बढाउने बताउनुभयो । उहाँले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकलाई संकटबाट जोगाउने आशा आफूहरुमा पलाएको समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू