अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

तीन जना मन्त्रिसहित आजै मन्त्रिपरिषद् पुनर्गठन हुँदै, सपथका लागि राष्ट्रपति कार्यालयमा तयारी

बिआरटीनेपाल २०८० फागुन २१ गते २:४८ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर नयाँ गठबन्धनबारे जानकारी दिँदै आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी गराउनुभएको हो ।उहाँले केही मन्त्रीहरुको नियुक्ति हुने भएकाले सपथ गराइदिन आग्रह गर्नुभएको पनि उहाँको सचिवालयले जनाएको छ । बेलुकासम्म मन्त्रीहरुको नाम पठाउने प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराउनुभएको छ ।

उहाँले अहिले कांग्रेसको तर्फबाट बनेका सबै मन्त्रीहरुलाई हटाएको पनि जानकारी गराउनुभएको छ । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई आजै मन्त्री बनाउने तयारी छ । राष्ट्रपति कार्यालयले सपथ ग्रहणका लागि तयारी अवस्थमा रहेको जनाएको छ ।

यसैबीच नयाँ गठबन्धनले मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव रहेका रहनुभएको छ । कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुङ्गो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने छ ।

यसैबीच सत्ता गठबन्धन भत्किएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ । सभापति देउवाले भोलि दिउँसो तीन बजे बुढानीलकण्ठमा रहेको आफ्नै निवासमा बैठक बोलाउनुभएको हो । यस्तै नयाँ गठबन्धनमा सहभागी हुने नहुने भन्ने अन्योलमा रहेको नेकपा एकिकृत समाजवादी पार्टीले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र गठबन्धनमा सामेल हुने/नहुनेबारे छलफल गर्न अहिले केहीबेरमा सचिवालयको बैठक बस्न लागेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू