अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०५ | Colorodo: 14:20

नेपालका बैंक तथा वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एसियामै सुरक्षित : गभर्नर अधिकारी

बिआरटीनेपाल २०८० फागुन २० गते ६:०५ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमाथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने चेतावनी दिनुभएको छ ।प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिकाे आजकाे बैठकमा गभर्नर अधिकारीले बैैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल गिराउने काम गरिरहेको दाबी गर्नुभयो ।

गभर्नर अधिकारीले बैंकका कर्मचारीहरूलाई मोसो दल्ने लगायतका हर्कत गर्ने समूहलाई सरकारले तत्कालै कानुनी कारबाही गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बैंकिङ उद्योगलाई धराशायी बनाउने गरी राजनीतिसमेत जोडिएको आशङ्का व्यक्त गर्नुभयो । उहाँले राजनीतिकरूपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको बताउनुभयो । उहाँले अर्थतन्त्र कमजोर बनाएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने दाउमा अराजक गतिविधि भइरहेको बताउनुभयो ।

गभर्नर अधिकारीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकर्सहरूलाई पक्राउ गरेको सन्दर्भमा अन्य बैंकर्सहरू आतङ्कित हुनुपर्ने अवस्था नभएको जिकिर गर्नुभयाे । उहाँले सीआईबीसँग राष्ट्र बैंकले बैंकका कर्मचारी पक्राउ सम्बन्धमा सोधपुछ गर्दा सहकारीको अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएको जानकारी दिनुभयो । गभर्नर अधिकारीले नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एसियामा नै सुरक्षित र पारदर्शी रहेको दाबी गर्नुभयो । उहाँले बचतकर्ताहरूले बचत गरेको निक्षेपभन्दा बैंकहरूसँग तीन गुणा बढी सम्पत्ति रहेकाले डराउनुपर्ने अवस्था नभएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू