अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

देशका धेरै ठाउँमा पानी पर्दै, हिमपातका कारण कर्णाली र कोरला राजमार्गको केही खण्ड अवरुद्ध

बिआरटीनेपाल २०८० फागुन २० गते ५:०४ मा प्रकाशित

अहिले देशका सबैजसो ठाउँमा बदली भएर केही ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ उपत्यकामा पनि वर्षा भइरहेको छ ।अहिले विशेष गरेर बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ । पश्चिमी वायु सक्रिय रहेकोले पश्चिम नेपालमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा हिजोदेखि नै पानी परेको हो ।

आज दिउँसो देशभर नै बदली भएर सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू–भागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा पनि छिटपुट पानी पर्ने सम्भावना रहेको छ । आज राति कोशी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । भोलिदेखि मौसम सुधार हुन थाल्नेछ ।

यसैबीच बाक्लो हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगडी सडक खण्ड अवरुद्ध भएको छ । हिमपात हुने क्रम नरोकिएकाले सडक सञ्चालन गर्न निकै कठिनाइ भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले बताउनुभयो । मौसममा सुधार आउनासाथ हिउँ हटाएर सडक खुलाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

यस्तै मुस्ताङमा पनि अत्यधिक हिमपातका कारक सडक, बिजुली र सञ्चार सम्पर्कविच्छेद भएको छ । सशस्त्र प्रहरीका अनुसार कोरला राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा कोरला नाका घुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई आवतजावतमा कठिनाइ भएको छ । पर्यटक र स्थानीयवासीको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिएका छन् । पाइपको पानी जमेका कारण पनि समस्या भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू