अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

सबै जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन हुनुपर्छ : कानुनमन्त्री गुरुङ

बिआरटीनेपाल २०८० फागुन २० गते ४:५३ मा प्रकाशित

कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङले नेपालमा भष्ट्रचारको अन्त्यका लागि वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन गर्नुपर्ने बताउनु भएको छ ।प्रथम तानसेन महोत्सवको उद्घाटन गर्दै कानुन मन्त्री गुरुङले नेपालबाट भष्ट्रचार उन्मुलनका लागि जनप्रतिनिधिमा वडादेखि माथि सबै जनप्रतिनिधि र कर्मचारीहरुमा अधिकृतदेखि माथिका सबै कर्मचारीहरुको सम्पत्ति छानबिन गर्ने कानुन ल्याउने तयारीमा लागेको बताउनुभयो ।

कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार भन्ने नारासहित तानसेन नगरपालिकाले प्रथम तानसेन महोत्सव शुरु गरेको छ । महोत्सवले कृषि, पर्यटन, लघु तथा साना उद्यमी प्रोत्साहन गर्नुका साथै युवाहरुलाई वृत्ति विकास र रोजगार सम्बन्धी मार्ग निर्देशन र स्वरोजगार बनाउने प्रकृतिका प्रर्दशनी र अवसरहरु प्रदान गरेको छ ।

कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले महोत्सवको बारेमा जानकारी दिँदै, तानसेनको विकास निर्माणका लागि महोत्सव प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उप–प्रमुख प्रतिक्षा गाहा सिंजालीले महोत्सवबाट तानसेनको कृषि, पर्यटनलाई फाइदा पुग्ने गरी कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

यस्तै नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले महोत्सवबाट संकलन भएको ६१ लाख राजश्व नगर विकासमा खर्च गरिने बताउनुभयो । तानसेन नगरपालिकाले टेण्डर मार्फत बढाबढमा ६१ लाख रुपैया राजधानी राइडस नेपाललाई महोत्सव संचालन गर्न जिम्मेवारी दिएको छ ।

तानसेन महोत्सवमा ३ सय वटा स्टल रहेका छन भने ३ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । २९ गतेसम्म चल्ने व्यापार मेलामा १० करोड रुपैयाँभन्दा बढीको कारोवार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू