अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

भूतपूर्व गोरखा सैनिकका जायज मागहरु बेलायती सरकारले सम्बोधन गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद

बिआरटीनेपाल २०८० फागुन २० गते ४:५१ मा प्रकाशित

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले भूतपूर्व गोरखा सैनिकका जायज मागहरु बेलायती सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । आइतवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । परराष्ट्रमन्त्री साउदले नेपाल र बेलायती सरकारबीच फेब्रुअरी २१ मा बसेको प्राविधिक समितिको बैठकमा गोरखा सैनिकका मागहरु सम्बोधन गर्न केही प्रगति भएको भएपनि समान पेन्सन लगायतका मुख्य मागहरु सम्बोधन हुन बाँकी रहेको जिकिर गर्नुभयो ।

मन्त्री साउदले समितिको अर्को बैठक २०२४ का मार्च २७ मा लण्डनमा हुने र सो बेलामा पनि आफूले भुतपूर्व गोरखा सैनिकका मागहरुका बारेमा कुरा उठाउने बताउनु भयो । उहाँले नेपालले ब्रिटिश गोरखाको मुद्दा प्राथमिकताका साथ उठाउने गरेको बताउनु भयो । उहाँले नेपाल सरकारको चाहना भनेको भूतपूर्व गोरखाहरुले न्याय पाउन् भन्ने नै रहेको जिकिर गर्नुभयो ।

मन्त्री साउदले भन्नुभयो, ‘हामीले संयुक्त अधिराज्य सरकार एवं संसदका विभिन्न तहका अधिकारीसँगको हरेक बैठकमा ब्रिटिश गोरखाको मुद्दा प्राथमिकताका साथ उठाउने गरेका छौँ । नेपाल सरकारका अन्य मन्त्रालयमा हुने ब्रिटिश सरकारका प्रतिनिधिहरुको बैठकमा ब्रिटिस गोरखाको मुद्दा उठाउन आग्रह गरेका छाँै । गत सातामात्र विदेश मन्त्रालयअन्तर्गतका विकास राज्यमन्त्री एन्ड्रयु मिचेलले नेपाल भ्रमण गर्नहुँदा भएको भेटमा मैले भुतपूर्व गोरखाको विषय उठाएको थिएँ । उहाँले सम्माननीय प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्दा प्रधानमन्त्रीज्युले यो विषय उठाउनुभएको थियो । गत महिना बेलायती सेनाप्रमुख सर पेट्रिक स्ट्याण्डर्सको नेपाल भ्रमणको अवसरमा भएका भेटवार्तामा पनि यो कुरा उठाइएको छ । भुतपूर्व गोरखा सैनिकका जायज मागहरु बेलायती सरकारले सम्बोधन गर्नसक्छ र गर्नुपर्छ भन्ने सरकारको धारणा रहेको छ । सोहीअनुसार छलफल अघि बढेको छ । नेपाल सरकारको चाहना भनेको भुतपूर्व गोरखाहरुले न्याय पाउन् भन्ने नै हो ।’

मन्त्री साउदले गत सातामात्र विदेश मन्त्रालयअन्तर्गतका विकास राज्यमन्त्री एन्ड्रयु मिचेलको नेपाल भ्रमणमा आफू र प्रधानमन्त्री पुष्पकमल दाहालले समेत भूतपूर्व गोरखाको विषय उठाएको बताउनु भयो । उहाँले गत महिना बेलायती सेनाप्रमुख सर पेट्रिक स्ट्याण्डर्सको नेपाल भ्रमणको अवसरमा भएका भेटवार्तामा पनि सो विषय उठाएको र बेलायती सरकार सकारात्मक रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू