अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 22:57

शालिन मृत्यु प्रकरणको छानबिनको माग गर्दै नेविसंघद्धारा संसद् भवनअगाडि प्रदर्शन

बिआरटीनेपाल २०८० फागुन १८ गते ६:४२ मा प्रकाशित

चितवनमा १३ वर्ष बालिकाको मृत्यु प्रकरणलाई लिएर नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको एउटा पक्षले काठमाडौंमा प्रदर्शन गरेको छ ।कांग्रेस महामन्त्री गगन थापानिकट नेविसंघका नेता–कार्यकर्ताले शुक्रवार नयाँ बानेश्वरको संघीय संसद् भवनअगाडि प्रदर्शन गरेका हुन् । बालिका शालिन पोखरेलको बलात्कारपछि हत्या गरिएको भन्दै उनीहरूले न्याय दिन माग गरेका छन् । साथै दोषीलाई कडा कारबाहीको माग राखेका छन् ।

प्रदर्शनका क्रममा नेपाल प्रहरीले केही विद्यार्थी नेतालाई पक्राउसमेत गरेको नेविसंघका केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार कैलालीका वासुदेव न्यौपाने, भक्तपुरका विवेक लामिछाने, सोलुखुम्बुकी पूजा फुयाल, भक्तपुर बहुमुखी क्याम्पसका सुदीप ढुङ्गाना, मोहन कालाथोकी, पोखरा विश्वविद्यालयका सन्तोष आचार्य र मोहम्मद अफ्ताफ नेपाली लगायतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई तत्काल रिहा गर्न नेविसंघले मागसमेत गरेको छ ।

शालिनका हत्यारा र बलात्कारीलाई तत्काल पक्राउ गरी कारबाही नगर्दासम्म नेविसंघले आन्दोलन थप चर्को बनाउँदै लैजाने अर्का नेता सुभाष पौडेलले जानकारी दिनुभयो । नेविसंघले देशभरि नै प्रदर्शन गर्ने तयारी गरेकोसमेत उहाँको भनाइ छ । चितवनको रत्नगरमा रहेको एकता शिशु निकेतनमा अध्ययनरत १३ वर्षीया छात्रा शालिनको बलात्कारपछि हत्या गरिएको उनका आफन्तले दाबी गरेका छन् । तर विद्यालयले भने उनले आत्महत्या गरेको बताइरहेको छ । यसैबीच प्रहरीले मृत्यु भएकी बालिकाका परिवारको उजुरीका आधारमा विद्यालयका प्रधानाध्यापकसहित तीन जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू