अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

मदिरा सेवन गर्नेलाई ​पोशाक र फूलमालासहित सम्मान !

बिआरटीनेपाल २०८० फागुन १८ गते ५:३३ मा प्रकाशित

पाल्पाको रिब्दिकोट गाउँपालिकाले २४ सै घण्टा मादक पदार्थ सेवन गरी हिँड्नेलाई सम्मान गरेको छ । गाउँपालिकाले मादक पदार्थ सेवन गर्ने ६० जना व्यक्तिहरूलाई बिहीवार पालिकाको कार्यालय परिसरमा फूलमाला र पोशाकसहित सम्मान गरेको हो । मदिराको नशामा लागेका श्रमजीवी विपन्नहरूलाई सही मार्गमा लाग्न प्रेरणा दिन सम्मान अभियान शुरू गरेको गाउँपालिकाले जनाएको हो ।

गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले मदिरा सेवन गरेर घर परिवारसँग झैँ–झगडा गर्न बानी छुटाउनका लागि सम्मान र पोशाक दिइएको बताउनुभयो । मदिरा सेवन गर्ने, कमाएको रकम बचत नगर्ने र विपन्न वर्गका श्रमिकलाई मदिरा सेवनबाट हुने हानिनोक्सानीका साथै बचत गर्ने बानीको विकास गर्न सचेतना तथा सम्मान कार्यक्रम राखेको कार्कीको भनाइ छ ।

सो अवसरमा ख्याहाका १०, देउरालीका २०, खस्यौलीका १२, भैरव स्थानका ८, कुसुम खोलाका ३, ठिमुरेका ७ पालुङमैनादीका ४ र फेकका ४ जनालाई सम्मान गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले गाउँ समाजमा रहेको विकृति विङ्गति हटाउँदै समाज सुधार गर्ने नैतिक जिम्मेवारी पालिकालाई भएको बताउनुभयो । सम्मानित हुनेहरूले अबदेखि मदिरा सेवन नगर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

पालिका उपाध्यक्ष कान्ता अधिकारीले गलत बाटो लागेका व्यक्तिहरूलाई सहारा दिई सुधार गर्नु स्थानीय सरकारको कर्तव्य र दायित्व भएकोले यो अभियान सुरु गरेको बताउनुभयो । कार्यक्रममा आएका अति विपन्न एवं आर्थिक अवस्था कमजोर भएका ३० घरपरिवारलाई पालिका अध्यक्ष कार्कीले आफ्नो तलब भत्ताबाट निःशुल्क रुपमा स्वास्थ्य बीमा गरिदिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू