अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 13:09

साफ यु–१६ महिला फुटबल- ‘घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्नेछौं’

बिआरटीनेपाल २०८० फागुन १७ गते ६:४० मा प्रकाशित

नेपाली यु–१६ महिला टोलीले घरेलु मैदानमा हुने साफ यु–१६ महिला फुटबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने आशा लिएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०को आयोजनामा शुक्रवारदेखि आगामी फागुन २७ सम्म प्रतियोगिता हुँदैछ । नेपालसहित ४ राष्ट्रले प्रतिष्पर्धा गर्नेछन् । बिहीबारदेखि प्रतिष्पर्धा सुरु हुने भएपनि नेपालले भने आफ्नो पहिलो खेल बलियो टोली बंगलादेशसँग खेल्दैछ । नेपाली युथ टोलीका प्रशिक्षक चक्र तामाङले एक महिनाको तयारीमा राम्रो टोली बनेको उल्लेख गर्दै घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने आशा राखेका हुन् । नेपालको सिनियर टोली पहिलो पटक महिला फुटबलमा उपाधि भित्राउने योजनामा छ ।

साउदी अरेबियामा नेपालको सिनियर राष्ट्रिय महिला टोलीले बिहीवार राती नै जोर्डनसँग फाइनल खेल्दैछ । सिनियरको प्रदर्शनबाट उत्साहित युवा टोली सोही पथलाई पछ््याउने आशामा छन् । महिला यु–१६ टोलीकी कप्तान भुमिका बुढाथोकीले आफ्नो टोली बलियो रहेको र प्रतियोगितामा चुनौती प्रश्तुत गर्ने बताइन् । आफ्ना सिनियर दिदीले राम्रो गरिरहेको उल्लेख गर्दै आफूहरू पनि सोही किसिमको प्रदर्शन गर्ने आशा व्यक्त गरिन् । नेपालले सन् २०२२ मा साफ यु–१५ च्याम्पियनसिप जितेको थियो । त्यतिबेला भूमिका पनि टोलीकी सदस्य थिइन् ।

नेपालका प्रशिक्षक चक्र तामाङले पनि सिनियर दिदीहरूको सफलताले आफ्नो टोलीलाई उत्प्रेरणा मिलेको विश्वास व्यक्त गरे । यही मैदानमा लामो समयदेखि प्रशिक्षण भइरहेकाले पनि त्यसको फाइदा लिने उनको भनाइ छ । यसअघि प्रतियोगिता च्यासल मैदानमा आयोजना गरिने बताइएको थियो । तर अन्तिम समयमा आएर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारिएको छ । एएफसी र साफको प्राविधिक टोलीले निरीक्षण गरेपछि च्यासलमा खेल गर्न नमिल्ने देखिएकोले आयोजनास्थल एन्फा कम्प्लेक्समा सारिएको हो ।

बंगलादेशका प्रशिक्षक साइफुल बरी तितुले आफ्नो टोली एकेडेमीका खेलाडी नभएकाले केही चुनौती रहने उल्लेख गरे । महिला फुटबलमा बंगलादेशले राम्रो नतिजा निकालिरहेको र अहिले सोही किसिमको नतिजा प्राप्त गर्न दबाब सिर्जना नगर्ने पनि प्रशिक्षक तितुको भनाइ छ । भूटानका प्रशिक्षक खान्डु त्सोमोले यो उमेरसमूहका प्रतियोगितामा एकअर्कालाई राम्रो बुझ्न गाह्रो हुने उल्लेख गर्नुभयो।

साथै शारीरिक रूपमा केही चुनौती हुने भए पनि मानसिक रूपमा सबै तयार रहेको भूटानको टोलीको भनाइ छ । यो प्रतियोगिताका लागि भारतले दुई महिनादेखि तयारी गरेको छ । भारतका प्रशिक्षक बिबी थोमसले साफको प्रतियोगिताका लागि मात्र आफूहरू सीमित नरहेको उल्लेख गर्दै भारतको समग्र फुटबल विकासका लागि काम गरिरहेको बताउनुभयो । भारतका सबै टोली टेक्निक र ट्याक्टिकल रूपमा राम्रो गर्ने विश्वास व्यक्त गरे ।

यस प्रतियोगिताको टिकट दर साधारणतर्फ १०० र भिआइपी पारापिटतर्फ ३०० तोकिएको छ । खेलको टिकट एन्फा कम्प्लेक्स सातदोबाटोमा भौतिक रुपमा किन्न पाइनेछ । यो प्रतियोगिताको लागि चक्र तामाङको प्रशिक्षणमा २३ सदस्यीय नेपाली यु–१६ महिला टोलीले तयारी गरिरहेको छ । प्रतियोगिताको उद्घाटन खेल १८ फागुनमा भारत र भुटानबीच हुनेछ । चार टोलीले एकअर्कासँग प्रतिष्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू