अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 00:06

नेपाली चलचित्रलाई गैरनेपालीहरुले पनि हेर्ने स्तरको बनाउन आवश्यक : अध्यक्ष तिमिल्सिना

बिआरटीनेपाल २०८० फागुन १७ गते ५:३७ मा प्रकाशित

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली चलचित्रलाई गैरनेपालीहरुले पनि हेर्ने स्तरको बनाउन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार ईन्टरनेशनल नेटवर्क अफ नेपालीज् फिल्ममेकर्स (आईएनएनएफ) अर्थात नेपाली चलचित्रकर्मीहरुको अन्तर्राष्ट्रिय सञ्जालको प्रथम साधारण सभाको सन्दर्भमा आयोजित ‘सीमानाभन्दा परः नेपाली चलचित्र’ विषयक अन्तरक्रिया तथा चलचित्र स्वर्णिम सम्मान-२०८० कार्यक्रमको अवसरमा काठमडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष तिमिल्सिना नेपाली सिने क्षेत्रलाई अब सीमाना पारी पनि बिस्तार गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले सीमाना पारी पुगेका नेपालीहरु समक्ष र गैर नेपालीहरुले हेर्नसक्ने गरी नेपाली चलचित्रको स्तर वृद्धि गर्न जरुरी रहेको बताउनुभयो । उहाँले अब नेपाली सिने जगत अरुसँग पनि प्रतिष्पर्धा गर्नसक्ने किसिमले अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै कलाकार नीर शाहले चलचित्र क्षेत्रको यो अवस्था हुनुमा चलचित्रकर्मीहरु नै दोषी रहेको बताउनुभयो । उहाँले निकृष्टताको सीमा नाघ्न तयार हुने तर उत्कृष्टताको सीमा नाघ्न कन्जुस्याँई गर्ने काम चलचित्रकर्मीहरुबाटै भएको दाबी गर्नुभयो । उहाँले चलचित्रकर्मीहरुले राम्रो नीति त्यागेर नराम्रा नीतिहरु अवलम्वन गरिरहेको बताउनुभयो । उहाँले चलचित्रकर्मीहरुले आत्मआलोचना र स्वविश्लेषण गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नीर शाह, उद्वव पौडेल, भुवन चन्द, मुकुन्द किशोर भट्टराई र नरेन्द्र खड्कालाई सम्मान गरिएको थियो । साथै चलचित्र क्षेत्रमा योगदान दिने रमेश बुढाथोकी, राजकुमार राई, गौरी मल्ल, रविन्द्र खड्का र करिष्मा मानन्धरलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू