अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

प्रहरी नियन्त्रणमा रहेका लघुवित्त पीडितलाई मुद्दा नचलाउन एमालेको ध्यानाकर्षण

बिआरटीनेपाल २०८० फागुन १६ गते ६:०४ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले गत सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनबाट प्रहरीको नियन्त्रणमा रहेका लघुवित्त पीडितहरुलाई मुद्दा नचलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएको छ । बुधबार नेकपा(एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, एमाले संसदीय दलका सचेतक महेश बर्तौला लगायत एमाले संसदीय दलको टोलीले गृहमन्त्री श्रेष्ठलाई भेट गर्दै यस्तो ध्यानाकर्षण गराएको हो ।

गत सोमबार लघुवित्त पीडितहरुको एक समूह संसद भवन परिसर पसेर नाराबाजी गरेसँगै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । हाल उनीहरुलाई सरकारले प्रहरी नियन्त्रणमै राखेर मुद्दा चलाउने तयारी गरेको छ । एमालेले लघुवित्त पीडितहरुलाई मुद्दा चलाउनु बेठिक हुने भन्दै उनीहरुलाई बिना शर्त रिहा गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले सचेतक महेश बर्तौलाले लघुवित्त पीडितहरु न्यायको लागि आन्दोलनरत रहेका बताउनुभयो । उनीहरु सुरक्षा संयन्त्रका कमजोरीका कारण संसद भवनभित्र प्रवेश गरेकाले मुद्दा चलाउनु नहुने बर्तौलाको भनाई छ । दोषि देखिने सुरक्षा संयन्त्रका व्यक्तिहरुलाई कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो । त्यस्तै संसद भवन परिसर र सिंहदरबार परिसरमा बार लगाएर निषेधित क्षेत्र तोकिएकोप्रति पनि एमालेले असन्तुष्टि व्यक्त गरेको छ । सुरक्षा संयन्त्रलाई बलियो बनाउँदै ती स्थानहरुको तारबार हटाउन पनि गृहमन्त्रीलाई आग्रह गरिएको समेतक बर्तौलाले बताउनुभयो ।

त्यस्तै, मिटरव्याज पीडितहरु हिँडेरै काठमाडौंसम्म आन्दोलनका लागि आएका भन्दै उनीहरुको माग सम्बोधन गर्ने सुनिश्चितताका साथ घर फर्काउने वातावरण बनाउन पनि माग गरिएको छ । सचेतक बर्तौलाले गृहमन्त्रीले लघुवित्त पीडितहरुलाई सहज रुपमा रिहाइ गर्न सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको जानकारी दिनुभयो । त्यस्तै निषेधित क्षेत्र भनि तारबार गरिएको सम्बन्धमा पनि आफ्नो ध्यानाकर्षण भएको गृहमन्त्रीले बताएको उहाँको भनाई छ । आफूहरुको कुरालाई सुनुवाई नभएमा यि विषयहरु आगामी संसद बैठकमा पनि उठाउने सचेतक बर्तौलाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू