अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घट्यो

बिआरटीनेपाल २०८० फागुन १६ गते ५:५५ मा प्रकाशित

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ मा देशको जन्मदर आठ प्रतिशतले घटेर शून्य दशमलव ७२ प्रतिशतमा झरेको छ ।हरेक वर्ष जन्मदर घटिरहेको दक्षिण कोरियामा सन् २०२२ को जन्मदर शून्य दशमलव ७८ प्रतिशत र सन् २०२१ मा शून्य दशमलव ८१ प्रतिशत थियो । विकसित देशको जनसङ्ख्या स्थिर राख्न प्रतिमहिला जन्मदर दुई दशमलव एक आवश्यक हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

दक्षिण कोरियामा जन्मदर घट्ने क्रम यही गतिमा रहने हो भने अबको ५० वर्षमा काम गर्ने उमेरका मानिसको सङ्ख्या आधा हुने र सन् २१ सयसम्ममा जनसङ्ख्या नै आधा हुने भन्दै काेरियाली अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । सन् २१ सयसम्ममा दक्षिण कोरियाको आधा जनसङ्ख्या ६५ वर्षमाथिको हुने देखिएको छ ।यसले देशको अर्थतन्त्रसँगै निवृत्तीभरण र सामाजिक सुरक्षामा नराम्रो असर पुग्ने भन्दै दक्षिण कोरियाका राजनीतिज्ञहरूले यसलाई राष्ट्रिय सङ्कटकाल भनेका बीबीसीले जनाएको छ । दक्षिण कोरियाका महिलाहरूले कामको निरन्तर चक्रमा अड्किनुपर्दा आफूहरूसँग बच्चा जन्माउन पर्याप्त समय नभएको प्रतिक्रिया दिएका छन् ।

निरन्तर काम गर्न नसके आफू पछाडि परिने वा असफल हुने उनीहरूको तर्क छ । एक पुस्ताको अवधिमा गरिबीबाट विकसित देशको स्थितिमा पुगे पनि दक्षिण कोरियाको सामाजिक सुरक्षा कमजोर छ । तर बच्चा जन्माउनेहरूलाई भने नगद भुक्तानीसहितका सुविधा दिएर आकर्षित गर्न खोजे पनि प्रयास सफल भएको छैन ।सन् २०२२ देखि दक्षिण कोरियाले बच्चा जन्मँदा आमालाई २० लाख कोरियाली वन अर्थात् एक हजार पाँच सय १० अमेरिकी डलर दिँदै आएको छ । त्यसपछि एक वर्षसम्म प्रत्येक महिना सात सय ५५ अमेरिकी डलर र दुई वर्षसम्म प्रत्येक महिना तीन सय ७७ अमेरिकी डलर दिने गर्छ ।

यस्तै प्राथमिक विद्यालय पढ्ने बेलासम्म प्रत्येक महिना एक सय ५१ अमेरिकी डलर दिने गर्छ । यसरी बच्चा जन्माउने दम्पतीलाई दक्षिण कोरियाले झन्डै १३ लाख रुपैयाँ बराबर नगद भुक्तानी दिए पनि जन्मदर घटिरहेको छ । चीन, जापानलगायत विश्वका अरू विकसित देशमा पनि जनसङ्ख्या घटिरहेको भए पनि दक्षिण कोरियाको जस्तो चरम सङ्कट अरू देशमा छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू