अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

कांग्रेसले आगामी बैठकबाट उपनिर्वाचनको उम्मेदवार टुंग्याउने

बिआरटीनेपाल २०८० फागुन १६ गते ५:३२ मा प्रकाशित

नेपाली कांग्रेसको आगामी केन्द्रीय कार्यसमिति बैठकले उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने भएको छ । फागुन मसान्तमा बस्ने केन्द्रीय समिति बैठकले इलाम—२ र बझाङ प्रदेश (१)को उम्मेदवार टुंगो लगाउने महामन्त्री विश्वप्रकाश शर्माले बताउनुभयो । निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा (१)को उपनिर्वाचनका लागि २०८१ वैशाख १५ मा मिति तोकेको छ ।

त्यसका लागि चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ । त्यसलाई मध्येनजर गरी आगामी केन्द्रीय समिति बैठकले टिकटको टुंगो लगाउने उनको भनाइ छ । महामन्त्री शर्माले भन्नुभयो, ‘अहिले पार्टीमा उपचुनावको विषय औपचारिक रूपमा प्रवेश गरेको छैन । आगामी केन्द्रीय समितिमा उपचुनावबारे छलफल हुन्छ । केन्द्रीय समितिले टिकटको पनि टुंगो लगाउँछ ।’ एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो । बझाङको प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपछि उक्त सिट पनि रिक्त छ ।

सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा परी गत असार ५ मा निधन भएको थियो । इलाम – २ मा कांग्रेसबाट जिल्ला सभापति डम्बरबहादुर खड्का मुख्य दाबेदार हुनुहुन्छ । २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत पाउनुभएको थियो ।

कांग्रेसबाट खड्काका साथै नेताद्वय केशव थापा र भेषराज आचार्यबिच उम्मेदवार बन्न तीव्र प्रतिस्पर्धा छ । यस्तै बझाङ प्रदेश (१)मा कांग्रेसबाट सिंहका छोरा अभिषेक, केन्द्रीय सदस्य अर्जुनजंग बहादुर सिंह, काँग्रेस बझाङका पूर्वसभापति सत्यराज भण्डारी, गायक नन्दकृष्ण जोशी, जगत् जोशी र विष्णु ऐडीले आकांक्षा राखेका छन् । यसअघिको निर्वाचनमा इलाम-२ र बझाङ प्रदेश (१) गठबन्धनबाट कांग्रेसका उम्मेदवार थिए । उपनिर्वाचनमा पनि दुवै ठाउँका काँग्रेस आफ्नै उम्मेदवार खडा गर्ने तयारीमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू