अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

रुसी सेनामा गएका नागरिकका आफन्तसँग परराष्ट्रमन्त्रीकाे छलफल

बिआरटीनेपाल २०८० फागुन १५ गते ६:४८ मा प्रकाशित

परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ती भएका नेपाली नागरिकका आफन्तसँग छलफल गर्नुभएको छ मंगलबार मन्त्रालयमा बोलाएर मन्त्री साउदले छलफल गरेको उहाँको सचिवालयले जनाएको छ। भेटमा मन्त्री साउदले गैरकानुनी रुपमा रुसी सेनामा भर्ती भएका नेपालीप्रति पनि राज्यको दायित्व सिर्जना हुने बताउनुभयो। ‘उहाँहरू अवैधानिक रूपमा गइदिँदा समस्या सिर्जना भयो। नगइदिएको भए हुन्थ्यो,’ परराष्ट्रमन्त्री साउदले भन्नुभयो, ‘अब जसरी गएपनि उहाँहरू प्रति राज्यको दायित्व छ। आफ्ना नागरिकप्रति सरकार सधैँ जिम्मेवार हुनुपर्छ र हुन्छ।’

रुसी सेनामा भर्ती भएका नेपाली प्रति आफ्नो तहबाट इमानदारितापूर्वक प्रयास गरिरहेको मन्त्री साउदले बताउनुभयो । ‘रुसी सेनामा भर्ना भएका नागरिकको सकुशल फिर्ता, घाइतेको उपचार र उद्धार तथा लडाइँमा मृत्यु भएकाहरूको शव नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, मस्कोस्थित नेपाली दूतावासको क्षमताले भ्याएसम्म हर सम्भव प्रयास गरिरहेका छौं,’ मन्त्री साउदले भन्नुभयो । यस्तै सरकारले काठमाडौंस्थित रुसी दूतावास, मस्कोस्थित नेपाली दूतावास र अन्य माध्यमहरुबाट रुसी पक्षसँग निरन्तर सम्पर्क गरिरहेको उहाको भनाई छ ।

मन्त्रालय अन्तरगतको कन्सुलर विभागमा हालसम्म मृत्यु भएका, सम्पर्कमा नभएका तथा रुसी सेनाबाट फिर्ता गरिदिन अनुरोधसहितका २४४ जनाको परिवारले उद्धारका लागि निवेदन दिएका छन्। अन्य भर्ती भएका नेपाली नागरिकका परिवारले पनि कन्सुलर विभागमा आवेदन दिन मन्त्री साउदले आग्रह गर्नुभयो। घर–परिवारले आवेदन दिए सरकारलाई रुसी सेनामा भर्ना भएका नागरिकको स्थिति यकिन गर्न सहज हुने साउदको भनाई थियो ।

रुसी सेनामा भर्ना भएका नागरिकको संख्याका बारेमा अतिरञ्जित गरेर समाजमा भ्रम फैलाउने ढंगले कसैले पनि प्रस्तुत हुन नहुनेमा पनि मन्त्री साउदको जोड छ। यस्तै मन्त्री साउदले नेपाली नागरिकबारे सरकारले राखेका कतिपय सवालमा रुसी पक्षबाट सकारात्मक जवाफ प्राप्त भएको पनि बताउनुभयो। ‘मृतक र घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयमा रुस सकारात्मक छ। यस्तै सेनामा कार्यरत बाँकी नेपाली नागरिकलाई स्वदेश फर्किन दिने विषयमा समेत रुस सरकारसँग कुरा भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू