अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

माओवादी स्थायी समिति बैठक : कांग्रेसले प्रतिगमनलाई सघाएको निष्कर्ष

बिआरटीनेपाल २०८० फागुन १५ गते ६:१६ मा प्रकाशित

नेकपा माओवादीमा हालै सकिएको नेपाली कांग्रेसको महासमिति बैठकको समीक्षा भएको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकमा बोल्ने सबैजसो स्थायी कमिटी सदस्यहरूले नेपाली कांग्रेस दक्षिणपन्थी बाटोमा लागेको भन्दै कांग्रेससँगको सहकार्यबारे सोच्नुपर्ने धारणा राखेका छन्। ‘हालै सम्पन्न नेपाली कांग्रेस महासमिति बैठकमा चलेको चर्चाहरूको बारेमा पनि छलफल भयो, त्यही विषयसँग जोडिएर राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई दिन नहुने विषयमा छलफल गरिएको प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिनुभयो । यसबारेमा भोलि अन्तिम निर्णय गरिने उहाको भनाई छ ।

बैठकमा कांग्रेस महासमितिको बैठक र अहिलेसम्म कांग्रेसका कारण माओवादीलाई भएको फाइदार बेफाइदाबारे कुरा उठेको थियो। आज कांग्रेस महासमिति बैठकमा भएका तीनवटा विषयमा समीक्षा भएको उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो नम्बरमा कांग्रेस महासमितिमा गठबन्धनबारे भएको छलफलमा माओवादीको गम्भीर ध्यानाकर्षण भएको छ। बैठकमा बोल्ने सबै स्थायी कमिटी सदस्यहरूले माओवादीकै मत पाएर पहिलो पार्टी भएको कांग्रेसले गठबन्धनमाथि नै धावा बोल्नु अनैतिक काम भएको बताएका छन्।

यसअघि गत फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा चलेको कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले आउँदो निर्वाचनमा गठबन्धन गर्न नहुने प्रतिवेदन ल्याउनुभएको थियो । महामन्त्री थापाले महासमितिमा पेस गरेको प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक-शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौ’ भनेर लेखिएको छ।

यो प्रस्ताव कांग्रेस महासमितिले पारित गरिसकेको पनि छ। कांग्रेसले पारित गरेको यो प्रस्तावबारे नै माओवादी बैठकमा गम्भीर समीक्षा भएको र एउटा निष्कर्षमा पुग्नुपर्ने कुरा उठेको हो। माओवादीले स्थायी कमिटीमा उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदन समीक्षा पनि गरेको छ । उहाँले माओवादीले सशस्त्र संघर्षबारे लेख्दै माओवादीको हिंसात्मक गतिविधिका कारण देश पछाडि धकेलिएको निष्कर्ष प्रतिवेदनमा लेख्नुभएको थियो ।

‘खड्काले महासमितिमा राखेको यो प्रतिवेदनबारे माओवादीले स्थायी कमिटी बैठकमा समीक्षा गरेको र उहाँको यो प्रतिवेदनलाई परिवर्तन अस्वीकार गर्ने र असान्दर्भिक भनिएको नेताहरूले बताएका छन्। यद्यपी अध्यक्ष प्रचण्डले भने यसबारेमा कुनै प्रतिक्रिया नजनाएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिनुभयो। यसैगरी माओवादी स्थायी कमिटी सदस्यहरूले कांग्रेस महासमितिमा प्रतिगमनलाई सघाउने प्रवृत्ति देखिएको निष्कर्ष निकालेका छन्। सनातन हिन्दु राष्ट्रको एजेण्डालाई महासमिति बैठकमा प्रवेश गराएर कांग्रेस फेरि पछाडि फर्किएको र यस्तो प्रवृत्तिको कांग्रेससँग गठबन्धन गर्नुको कुनै अर्थ नभएको छलफल बैठकमा भएको उपमहासचिव पुनले बताउनुभयो ।

कांग्रेस महासमितिमा सनातन हिन्दु राष्ट्रको माग गर्दै १ हजार ६३ महासमिति सदस्यहरूले सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका थिए। अध्यक्ष प्रचण्डले भने बुधबारको बैठकमा यसबारे धारणा राख्नुुहने छ । कांग्रेसले नेता कृष्ण सिटौलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने तयारी गरेको छ। तर माओवादी केन्द्रमा भने कांग्रेसको पछिल्लो गतिविधिबारे समीक्षा गर्नुपर्ने आवाज उठेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू