अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

राप्रपाद्वारा सोमवार संसद अवरुद्ध गर्ने चेतावनी

बिआरटीनेपाल २०८० फागुन १३ गते ५:४७ मा प्रकाशित

सडक आन्दोलनमा रहेका मिटरब्याजी पीडितलाई तत्काल वार्तामा नबोलाए राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमवार संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । आइतवार मिटरब्याजी पीडितहरुलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सरकारलाई यस्तो चेतावनी दिनुभएको हो । उहाँले सरकारले संसद बस्नु भन्दा अगाडि पीडितहरुको माग सम्बोधनको लागि वार्तामा बोलाउन माग गर्नुभयो ।अध्यक्ष लिङदेनले सरकारले मिटरब्याजी पीडितका समस्या समाधान गर्न आल्टान नगर्न आग्रह गर्नुभयो । उहाँले राप्रपाले संसदमा पनि कुरा उठाउने र कुरा नसुने संसद अवरुद्ध गर्ने चेतावनी दिनुभयो ।

अध्यक्ष लिङदेनले सरकारले मिटरब्याजी पीडितको समस्यालाई बाहिर राखेर बस्ने हो भने राप्रपा नेपाल आफैँ सडक आन्दोलनमा आएर साथ दिने बताउनु भयो । उहाँले जनताको समस्या समाधान गर्ने सबैभन्दा पहिलो जिम्मेवारी सरकारको भएको बताउँदै उहाँले मिटरब्याजी समस्यामा सरकार उदासिन भएको भन्दै राप्रपा टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभयो ।अध्यक्ष लिङदेनले मिटरब्याजी पीडितको मात्रै समस्या नभएर देशको साझा समस्या भएको बताउनु भयो । उहाँले सरकार आँखा भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने अवस्थामा पुगेको दाबी गर्नुभयो । उहाँले मिटरब्याजी पीडितको न्याय मार्च र हिँडाइले मात्रै सरकारको आँखा खुल्ने अवस्था नभएको बताउनु भयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति भनेको आम जनताको सुख दुःखमा साथ दिने भएको बताउनु भयो ।

अध्यक्ष लिङदेनले गरिव जनताको मुक्तिको नारा लगाएर १० वर्ष युद्ध चलाएर सत्तामा पुगेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई मिटरब्याजी समस्या समाधान गर्न ढिला नगर्न आग्रह गर्नुभयो । उहाँले मिटर ब्याजीका समस्या तत्काल समाधान नगरे आफ्नो पार्टीले संसदमा पनि प्रदर्शन र मिटरब्याजी पीडितसँग सडकमा पनि आन्दोलन गर्ने बताउनु भएको हो ।

‘मिटरब्याजी पीडितको मात्रै समस्या नभएर देशको साझा समस्या हो । यो समस्यामा सरकार स्वयम अग्रसर भएर सम्बोधन गरोस् भन्ने हाम्रो चाहना थियो । तर सरकार आँखा भएर पनि आँखा नदेख्ने, कान भएर पनि कान नसुन्ने अवस्थामा पुगेको छ । मिटरब्याजी पीडितको न्याय मार्च र हिडाईले मात्रै सरकारले सुन्ला जस्तो नदेखिएपछि साथ दिन राप्रपा आएको छ । अरु पार्टी के गर्छन् थाहा छैन । राप्रपा तपाईहरुको साथमा छ । यहाँ राप्रपा राजनीति गर्न आयो भन्लान् तर हामीलाई राजनीति गर्नुछैन । हाम्रो राजनीति भनेको आम जनताको सुख दुःखमा साथ दिने हो । भोलिबाट नै हाम्रो साथ तपाईहरुलाई छ । संसद रोक्न परे पनि संसद रोक्छौं । जनता रोएर सडकमा हिँड्नु परेको छ भने संसदमा सांसदहरुको भाषणको लागि किन चाहियो । सरकारलाई भन्न चाहन्छु । गरिव जनताको मुक्तीको नारा लगाएर १० वर्ष युद्ध चलाएर सत्तामा पुगेको प्रधानमन्त्री पुष्पकमल दाहाललाई भन्न चाहन्छु । ढिलो नगर्नुस् । भोलिको संसद शुरु हुनुभन्दा अगाडि आन्दोलनका मागलाई सम्बोधन गर्नुस् । नत्र राप्रपा पार्टीले संसदमा पनि प्रदर्शन गर्छ । मिटरब्याजी पीडितसँग सडकमा पनिसँगै रहन्छ । मिटरब्याजीमो मात्रै कुरा होइन । गणतन्त्र ल्याएको १० वर्षमा मुलुकको न्याया प्रणाली कहाँ छ भन्ने तस्बिर हो ।’ अध्यक्ष लिङदेनले भन्नुभयो ।

उहाँले गणतन्त्र ल्याएको १० वर्षमा मुलुकको न्याय प्रणालीबारे प्रश्न गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू