अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

झापाको चन्द्रगढीमा २८ विगाहा सरकारी जग्गा हिनामिना भएपछि १८७ जना विरुद्ध अख्तियारमा मुद्दा

बिआरटीनेपाल २०८० फागुन १३ गते ५:२४ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको चन्द्रगढीमा सरकारी जग्गा हिनामिना गरेको अभियोगमा १८७ जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले आइतबार नापी कार्यालय चन्द्रगढी झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसमेत १८७ जना विरुद्ध मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार झापाको साविक दमक ६ग हाल दमक नगरपालिका वडा नं. १३ र १४ मा पर्ने बालुवाटारको रतुवा र दिपिनी खोलाको दोभानको सार्वजनिक जग्गा अतिक्रमण गरेको अभियोगमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार कि.नं.७६०,७६१,७६२,७७३,७८३,७८४,७८६,७८७,७८८ र साविक दमक ६ ग र दमक ५ ख बिचको मार्जिनका जग्गाहरु २०२१ सालको शुरु नापीमा सरकारी सार्वजनिक भए पनि स्वबासी प्रक्रियाबाट जग्गादर्ता गरेको पाइएको आयोगले जनाएको छ।आयोगका अनुसार मिलोमतोमा २८ विगाहा १७ कठ्ठा १३ धुर (९३८४ रोपनी ८ आना १ दाम) व्यक्ति विशेषको नाममा दर्ता कायम गरेको हो। जसको न्युनतम मूल्याङ्कन ४१ करोड ६२ लाख १९ हजार ८ सय एक रुपैयाँरहेको छ।

आयोगले नापी कार्यालय, चन्द्रगढीका कमैचारी ९ जना, सरकारी सार्वजनिक जग्गा गैरकानूनी तरिकाले स्वबासी जग्गादर्ता प्रकृयाबाट आफ्नो नाममा दर्ता कायम गरेका शुरु जग्गा दर्तावाला ६५, र विगो असुल उपर तथा जग्गा जफत प्रयोजनका लागि मात्रै ११३ लाई प्रतिवादी बनाइएको छ। आयोगले एउटै घटनामा मुछिएकाहरु विरुद्ध दुईवटा मुद्दा दायर गरेको छ। आइतबार नै दायर भएको यहीँ प्रकरणको अर्को मुद्दामा १७२ जनालाई प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू