अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

३४ विमानस्थलमा नेपाल टेलिकमले फ्री वाइफाइ सेवा उपलब्ध गराउने

बिआरटीनेपाल २०८० फागुन ११ गते ७:०१ मा प्रकाशित

नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण बीच ११ फागुनमा फ्री वाइफाइ इन्टरनेट सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सहमति अनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्री वाइफाइ नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा समेत चरणबद्ध रुपमा फ्री वाइफाइ इन्टरनेट सेवा सञ्चालन गर्नेछ । त्यसैगरी विमानस्थलभित्र यात्रुहरुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने छ ।

फ्री वाइफाइ नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनका लागि उपकरणहरु जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गनेछ । त्यसैगरी यात्रुहरुलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थान समेत प्राधिकरणले उपलब्ध गराउने छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्री वाइफाइ सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ भने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू