अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

माओवादीले राम्रो र नराम्रो काम गर्ने तीन/तीन नेताको नाम सार्वजनिक गर्ने

बिआरटीनेपाल २०८० फागुन १० गते ६:४४ मा प्रकाशित

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले चैत १ गतेदेखि तराई—मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो। बैठकले अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, सुदूरपश्चिम प्रदेशमा दलको नेता हेरफेरलगायत एजेण्डामा छलफल भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो।

उहाँले बैठकमा माओवादी विशेष रूपान्तरण अभियानका क्रममा धेरै खट्नेलाई सम्मानपत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय भएको जानकारी पनि दिनुभयो । धेरै राम्रो काम गर्ने, ठीकै काम गर्ने र काम नगर्नेहरूको नाम शुक्रबारको बैठकपछि सार्वजनिक गर्ने प्रवक्ता सापकोटाले बताउनुभयो। ‘इतिहासमै पहिलो पटक पार्टीले कामको आधारमा मूल्यांकन गरेको छ। त्यसमा सबभन्दा बढी खट्ने, ७५ प्रतिशतसम्म खट्ने, ५० देखि ७५ प्रतिशतसम्म खट्ने र नखट्ने गरी चार क्याटोगरीमा बाँडेका थियौं,’ सापकोटाले भन्नुभयो, ‘त्यसमा आज सबै प्रदेशले कति दिन खट्यो, उत्कृष्ट को को भए भन्ने कुरा प्रस्तुत गरेका थिए। तीमध्ये सर्वोत्कृष्ट कोको भए उनीहरू तीन जनाको पनि नाम भोलि सार्वजनिक गरिनेछ।’

यस्तै, सबभन्दा नराम्रो काम गरेका तीन जनाको नाम पनि भोलि प्रस्तुत हुने सापकोटाले बताउनुभयो। उहाँले राम्रो गर्नेलाई सम्मानपत्र दिने, ठीकै गर्नेलाई धन्यवाद दिने, राम्रो गर्नुस् भन्ने, नराम्रो गर्नेलाई कारबाही गर्ने, घटुवा निलम्बन, चेतावनी हुन सक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू