अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

विभिन्न काण्डमा मुछिएका मन्त्रीहरूलाई बर्खास्त गर्न एमालेको माग

बिआरटीनेपाल २०८० फागुन १० गते ६:३९ मा प्रकाशित

नेकपा एमालेले विभिन्न काण्डमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। पार्टी कार्यालयमा च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकले २२ बुँदे निर्णय गर्दै मन्त्रीहरूको बर्खास्ती माग गरेको हो। एमालेले टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेको हो। । सरकारले तस्करी र भ्रष्टाचारलाई संरक्षण गरेको र शासन सञ्चालनमा द्वैध चरित्र देखाएको एमालेको आरोप छ।

‘मुलुक तस्करी र भ्रष्टाचारको गहिरो दलदलमा फस्दै गएको छ। सञ्चारमन्त्री टेरामक्स खरिद प्रक्रियाको अनियमिततामा मुछिएका छन्। बालकुमारी घटना छानबिन आयोगले दोषी देखाएका भौतिक पूर्वाधार मन्त्री निर्लज्जतापूर्वक झण्डा हल्लाएर हिंडिरहेका छन्। सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टण्टबाजीमा परिणत भएको छ। गठबन्धनमा आबद्ध भएकै कारण ललितानिवास काण्डका मुख्य निर्णयकर्ताहरूलाई उन्मुक्ति दिइएको छ। सुन तस्करीमा मुछिएका आफ्नो पार्टीका नेतालाई सफाइ दिइएको छ। विभिन्न काण्डहरूको छानविनमा व्यवसायीहरूपिच्छे दोहोरो मापदण्ड अपनाइएको छ र आफ्ना मान्छेहरूलाई अपराधबाट उन्मुक्ति दिन न्यायालयलाई प्रभावित र महान्यायाधिवक्ता कार्यालयको दुरूपयोग गर्दै गरिएको छ। गठबन्धनका मान्छे मुछिएका मुद्दाहरूमा पक्षपातपूर्ण न्यायनिरूपण आम विषय बनेको छ,’ निर्णयमा भनिएको छ।

त्यस्तै एमालेले सरकारका गलत नीति र भ्रष्ट क्रियाकलापका कारण मुलुकको अर्थतन्त्र मन्दीमा फस्दै गएको आरोप लगाएको छ। आर्थिक वर्षको ७ महिना बित्दा पुँजीगत खर्च २१ प्रतिशतमा सीमित भएको र राजस्वले चालू खर्चसमेत धान्नसकेको अवस्था नरहेको भन्दै एमालेले सरकारको चर्को आलोचना गरेको छ। ‘सरकार आर्थिक वर्षको पहिलो महिनादेखि नै आन्तरिक ऋण उठाइरहेको छ। विकास निर्माणका काम ठप्प छन्। निर्माण व्यवसायीहरूले सम्पन्न भइसकेका कामको भुक्तानी पाउनसकेका छैनन्। चर्को ब्याजदर, झन्झटिलो कर प्रशासन र सरकारका दोहनकारी नीतिका कारण व्यवसायीहरू हतोत्साही अवस्थामा छन्। धेरै व्यवसायहरू बन्द भएका छन् र व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन्। यो बैठक गहिरिँदो आर्थिक संकट र विग्रँदो व्यवसायिक वातावरणप्रति गहिरो चिन्ता व्यक्त गर्दछ’, निर्णयमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू