अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

एमाले केन्द्रीय कमिटी बैठक- चारवटा कार्ययोजना प्रस्तुत, ९ समूहमा छलफल

बिआरटीनेपाल २०८० फागुन ८ गते ६:२८ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा चारवटा कार्ययोजना प्रस्तुत भएका छन् । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गर्नुभएको छ । त्यस्तै, पार्टीव्यापीरूपमा ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेलले राख्नुभएको थियो ।

त्यस्तै, पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । उहाँले खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावहरूमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई ९ वटा समूहमा विभाजन गरिएको बताउनुभयो । पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरू रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावहरूमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई ९ वटा समूहमा विभाजन गरिएको छ । त्यसमा खासगरी पार्टी स्थायी कमिटी नै एउटा समूहमा छ । कोही, मधेस हुँदै सात प्रदेशका समूहहरू छन् । एउटा समन्वय कमिटीहरू, उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु रहेको अर्को समूह छ । यो समूहमा प्रस्तुत कार्ययोजनामाथि भोलि १० बजेबाट नियमित छलफल हुनेछ । छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी केन्द्रीय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ र पर्सिको दिन केन्द्रीय कमिटीको बैठकमा व्यवस्थित गर्दै अघि बढ्नेछौँ ।”

उहाँले छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने र बिहीबार बैठकमा व्यवस्थित गर्दै अघि बढ्ने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू