अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले हरायो, नेपाल तालिकाको शीर्ष स्थानमा

बिआरटीनेपाल २०८० फागुन ७ गते ४:४२ मा प्रकाशित

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले हराएको छ ।कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको १ सय २४ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २७ ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । नेदरल्यान्ड्सका माइकल लेभिटले ५७ रन बनाए । नामिबियाका गेरहार्ड इरासमसले ३ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ गरेको नामिबिया ३५ ओभर १ बलमा १ सय २३ रनमा अल आउट भयो । नामिबियाका जेजे स्मितले सबैभन्दा धेरै २६ रन बनाए । नेदरल्याड्सका आर्यन दत्तले करियरको उत्कृष्ट बलिङ गर्दै ९ ओभरमा ३४ रन दिँदै ६ विकेट लिए । यो नेदरल्यान्ड्सका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाेत्कृष्ट बलिङ हो ।

नेदरल्यान्ड्सको जितले नेपाललाई फाइदा पुगेको छ । नेपाल नेट रन रेटका आधारमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ३ वटै टोलीले २/२ खेल खेलेकोमा १/१ खेल जितेका छन् । नेपालले नामिबियासँग हारेको थियो भने नेदरल्यान्ड्सलाई हराएको थियो । प्रतियाेगितामा नेपालले अब पर्सि बुधवार नामिबिया र १३ गते आइतवार फेरि नेदरल्यान्ड्ससँग खेल्नेछ । आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा ८ वटा टोलीले खेल्नेछन्, जसमा शीर्ष ४ वटा टोलीले सिधै विश्वकप छनोट खेल्न पाउनेछन् । पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू