अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

अब कांग्रेसले चुनावमा गठबन्धन गर्नु हुँदैन : नेता काेइराला

बिआरटीनेपाल २०८० फागुन ४ गते ७:२५ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महासमिति बैठकमा पेस गर्ने तीन वटा प्रस्तावमाथि १६ बुँदे धारणा राख्नुभएको छ ।ललितपुरको सानेपामा आज बसेको केन्द्रीय समिति बैठकमा नेता कोइरालाले आफ्ना सुझावसहित धारणा राख्नुभएको हो । उहाँले पार्टीका प्रस्ताव मौलिक हुनुपर्नेमा गठबन्धनको छाया देखिएको टिप्पणीसमेत गर्नुभएको छ । अबदेखि कांग्रेसले कुनै पनि चुनावमा गठबन्धन गर्न नहुने उहाँकाे भनाइ थियाे ।

‘यहाँ प्रस्तुत प्रतिवेदन र दस्तावेजहरूमा गठबन्धनको छाया परेको हो कि जस्तो देखियो । महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरू कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो, त्यो देखिएन । अबदेखि कांग्रेसले कुनै पनि चुनावमा गठबन्धन वा तालमेल गर्नु हुँदैन । अहिले संविधानमा भएको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना नभएकोले संविधान संशोधन गरेर निर्वाचन प्रणाली परिवर्तन गर्न कांग्रेसले सबै राजनीतिक दलहरूसँग संवादका लागि पहल गर्नुपर्छ’, उहाँले भन्नुभयाे ।

हिजोको बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रस्ताव पेस गर्नुभएको थियो । खड्का गठबन्धन सरकारमा उपप्रधान एवम् रक्षामन्त्रीसमेत हुनुहुन्छ ।नेता कोइरालाले देशको विकास र सुशासनको प्रमुख बाधक नै बेरोजगारीको समस्या र युवा पलायन रहेको बताउनुभयो । उहाँले यसतर्फ विस्तृत अध्ययन गरी समस्या समाधानका सूत्र पहिल्याउन एक उच्चस्तरीय कार्यदल बनाउन आवश्यक देखिएको उल्लेख गर्नुभयो । कांग्रेसको महासमिति बैठक प्रजातन्त्र दिवस अर्थात् आउँदो सोमवारदेखि शुरु हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू