अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

१ हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको सुपरिवेक्षण परामर्शदाता छनाेट

बिआरटीनेपाल २०८० फागुन ३ गते ६:०९ मा प्रकाशित

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको सुपरिवेक्षण परामर्शदाता छनाेट भएको छ ।आयोजनाको निर्माण सुपरिवेक्षणका लागि ट्राक्टेवल इन्जिनियरिङ जर्मनी, ट्राक्टेवल इन्जिनियरिङ स्पेन तथा वापकोस लिमिटेड भारतको संयुक्त उपक्रम इन एसोसिएशन विथ टोटल म्यानेजमेन्ट सर्भिसेस (टीएमएस) तथा जेड कन्सल्ट नेपाल  छनाेट भएको हो । आयोजनाको प्रवर्द्धक अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेड र परामर्शदाताबीच हिजो ठेक्का सम्झौता भएको हाे ।

निर्माण सुपरिवेक्षण परामर्श सेवाका लागि दुई करोड ३४ लाख युरो, चार लाख ४५ हजार अमेरिकी डलर र ६४ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो । परामर्श सेवाको रकम युरो, डलर र रुपैयाँ गरी तीन वटा मुद्रामा भुक्तानी हुने व्यवस्था गरिएको छ । परामर्श सेवाको अवधि एक सय १७ महिनाको हुनेछ । ठेक्का सम्झौता कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले सरकारले घोषणा गरेको रूपान्तरणकारी आयोजना निर्माणको सुपरिवेक्षण गर्न परामर्शदाता नियुक्त भएकाले एउटा महत्त्वपूर्ण चरण पार भएको बताउनुभयो ।

विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट आउँदो असारभित्रमा वित्तीय व्यवस्थापन गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको छ । कम्पनीका प्रबन्ध–सञ्चालक फडिन्द्रराज जोशीका अनुसार आउँदाे वैशाखमा हुने लगानी सम्मेलनमा विश्व बैंकको अगुवाइमा अन्तर्राष्टिय वित्तीय संस्थाहरूले एक अर्ब २० करोड डलरसम्म लगानी गर्ने सम्झौतामा हस्ताक्षरको तयारी भइरहेको छ ।

दुई खर्ब १४ अर्ब रुपैयाँ अनुमानित लागत रहेको माथिल्लो अरुणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट जुटाइने छ । सन् २०२६ देखि निर्माण शुरु गर्ने लक्ष्यका साथ त्यसअघिका कामहरू भइरहेका छन् । आयोजनाको निर्माण सन् २०३१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको पूर्वतयारीमध्ये दुई किलोमिटर सुरुङ मार्गसहित झन्डै २१ किलोमिटर प्रवेश सडक निर्माण शुरु भएको छ । आयोजनास्थलमा कार्यालय तथा आवास निर्माण भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू