अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

मिथेन ग्यास उत्सर्जनको अवस्था अध्ययन गर्न गुगलले आउँदो महिना उपग्रह परीक्षण गर्ने

बिआरटीनेपाल २०८० फागुन ३ गते ६:०० मा प्रकाशित

विश्वभर मिथेन ग्यास उत्सर्जनको अवस्था अध्ययन गर्न गुगलले आउँदो महिना उपग्रह परीक्षण गर्ने भएको छ । नयाँ उपग्रहले हरेक दिन १५ पटक पृथ्वीको परिक्रमा गर्नेछ । अहिले जलवायु परिवर्तनको मुख्य कारण मिथेन ग्यास उत्सर्जन रहेको वैज्ञानिकले जनाएका छन् । खेतीपाती, पशुपालन, प्राकृतिक ग्यास र फोहोरको व्यवस्थापनबाट मिथेन ग्यास उत्पादन हुन्छ । तर गुगल परियोजनाले तेल र ग्यास प्लान्टहरूमा मिथेन उत्सर्जनमा ध्यान केन्द्रित गर्नेछ । तेल र ग्यास निकाल्ने कम्पनीहरूले नियमितरूपमा मिथेन जलाउँछन् वा निकाल्छन् ।

गुगलको नयाँ परियोजना गुगल र पर्यावरण रक्षा कोषबीचको सहकार्य हो । यस उपग्रहबाट प्राप्त डाटालाई गुगलकै एआईले अध्ययन गर्नेछ । अध्ययनको निष्कर्षलाई विश्वभरका तेल र ग्यास पूर्वाधारमा मिथेन चुहावट पहिचान गर्ने उद्देश्यले मिथेन नक्सा बनाउन प्रयोग गरिनेछ । निष्कर्षलाई विभिन्न सरकार र कम्पनीलाई बुझाउने र ग्यास उत्सर्जन वा चुहावट कम हुने गुगलको अपेक्षा छ ।

सन् २०२२ मा भएको एक अध्ययनले सबैभन्दा ठूलो मिथेन उत्सर्जनमा तुर्कमेनिस्तान, रुस र अमेरिका देखिएका थिए । चीन र क्यानडाको पनि ठूलो हिस्सा थियो । अहिले मिथेनको स्तर चिन्ताजनकरूपमा उच्च रहेको छ । नासाका अनुसार पछिल्लो दुई सय वर्षमा ग्यासको स्तर दोब्बरभन्दा बढी भएको छ र यसको ६० प्रतिशत मानव गतिविधिले सिर्जना गरेको हो । गाईपालनका कारण मिथेन ग्यास निकै बढ्ने अध्ययन पनि सार्वजनिक भएका छन् । सन् २०२० मा अमेरिकी वातावरण संरक्षण एजेन्सीले गरेको अध्ययनले एउटा गाईले हरेक वर्ष एक सय ५४ देखि दुई सय ६४ पाउन्ड मिथेन ग्यास उत्पादन गरेको देखाएकाे थियो । मासु र दूधका लागि विश्वभर एक अर्ब ५० करोड वटा गाई पालेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू