अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 22:46

माओवादीमा ‘टिके प्रथा’ खारेज गर्ने प्रस्ताव

बिआरटीनेपाल २०८० फागुन १ गते ५:४६ मा प्रकाशित

नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजवाट शुरु भएको छ । पार्टीको विधान सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधानको मस्यौदा पेश गर्नुभएको छ । प्रज्ञा भवनमा मंगलबारदेखि सुरु भएको सम्मेलनमा अध्यक्ष प्रचण्डले माओवादी पार्टीलाई रुपान्तरण गर्ने प्रतिबद्धता जनाउँदै विधानको मस्यौदा पेश गर्नुभएको हो । प्रस्तावित विधानमा पार्टीको केन्द्रीय कमिटिको संख्या १५१ जना मात्रै हुने प्रस्ताव गरिएको छ।

पार्टीको कुनै पनि तहको कमिटिमा रहनका लागि प्रत्यक्ष चुनाव जित्नुपर्ने प्रावधान मस्यौदा विधानमा राखिएको छ। केन्द्रीय कमिटिले पदाधिकारी चुन्ने प्रावधान प्रस्तावित विधानमा राखिएको सहभागी एक नेताले जानकारी दिएका छन्। प्रस्तावित प्रावधान जस्ताको त्यस्तै पारित भएमा माओवादीमा ‘टिके प्रथा’को अन्त्य हुनेछ।

विधानको मस्यौदा पेश गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अनुभवले के देखायो भने सबैस्तरको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नै गर्नुपर्छ। स्थानीय, प्रदेश र केन्द्रीय तहको पनि प्रत्यक्ष गर्नुपर्ने हुन्छ।’ सबै कमिटिमा प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गरिरहँदा जनवादी केन्द्रीयताको मान्यतालाई भुल्न नहुने उहाँको भनाइ थियो। पेश गरिएको विधानको मस्यौदामाथि २० वटा समूह बनाएर छलफल गरिँदैछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू