अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

अब आची बोक्दै, सगरमाथा चढ्दै

बिआरटीनेपाल २०८० माघ २८ गते १५:५४ मा प्रकाशित

बिबिसी । सगरमाथा आरोहीले अब आफ्नो दिसा बोकेर बेस क्याम्प फर्कनु पर्ने भएको छ । बेस क्याम्पमा ल्याएपछि दिसा व्यवस्थापन गरिने छ ।
‘हाम्रा हिमाल गन्हाउन थालिसके,’ पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले भने । सगरमाथाको धेरै जसो हिस्सा पर्ने उक्त गाउँपालिकाले आरोहीले आफ्नो दिसा बोकेर बेस क्याम्प फर्कनु पर्ने नयाँ नियम लागु गरेको हो । उच्च तापक्रमका कारण सगरमाथामा फालिएका दिसा पूर्ण रूपमा विनाश हुँदैन । ‘मानव मल चट्टानहरूमा देखिएको र कतिपय आरोही बिरामी भएको गुनासो आएको छ,’ मिङ्मा थप्छन्, ‘यस्तो अवस्था किन पनि सह्य छैन भने यसले हाम्रो छवि बिगार्छ।’

संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा र त्यस नजिकै रहेको ल्होत्से हिमाल आरोहीलाई बेस क्याम्पमा दिसा बोक्ने झोला किन्न लगाइन्छ । ती झोला आरोही फर्किँदा जाँचिन्छ ।

आरोहणको मौसममा आरोहीहरूले आफूलाई हिमाली वातावरण अनुकूल बनाउन अधिकांश समय बेस क्याम्पमा बिताउँछन्। त्यहाँ टेन्ट खडा गरी शौचालय निर्माण गरिएको हुन्छ। शौच सङ्कलन गर्न भाँडा थापिएको हुन्छ। बेस क्याम्पबाट माथि उक्लिन थालेपछि आरोही र आरोहण सहयोगीहरूले हिउँमा खाल्डो खनेर दिसा गर्छन्। तर, कतिपय ठाउँमा हिउँ नभएकाले दिसा बाहिरै छाड्नु पर्ने अवस्था छ।

धेरै कम आरोही वातावरणमैत्री झोलामा दिसा बोकेर फर्किन्छन्। सगरमाथाको चुचुरामा पुगेर फर्किन हप्तौँ लाग्न सक्छ। फोहोर मैला सगरमाथा क्षेत्रमा ठुलो समस्या बनेको छ। त्यहाँ सरसफाइ अभियान बढ्दो छ। नेपाली सेनाले समेत हरेक वर्ष सगरमाथा सरसफाइ गर्छ।

‘मानिस पुग्न कठिन उच्च क्षेत्रमा फोहोर मैला मुख्य समस्या बनेको छ,’ सगरमाथा पोलुसन कन्ट्रोल कमिटी (एसपिसिसी) नामक गैरसरकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पा भन्छन्। सगरमाथामा कति फोहोर छ भन्ने आधिकारिक तथ्याङ्क छैन। तर उनी सगरमाथाको सबैभन्दा तल रहेको क्याम्प एक देखि सगरमाथाको चुचुरो तर्फको क्याम्प चार सम्म करिब तीन टन मान मल रहेको अनुमान गर्छन्। ‘त्यसमध्ये आधा क्याम्प फोर भनेर चिनिने साउथ कोलमा छ,’ छिरिङ भन्छन्।

(नवीन सिंह खड्काको रिपोर्टको सम्पादित अंश)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू