अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

परिवर्तन पक्षधरलाई गोलबद्ध हुन प्रधानमन्त्री प्रचण्डको आह्वान

बिआरटीनेपाल २०८० माघ २७ गते ४:४० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा परिवर्तनका पक्षधर गोलबद्ध हुनुपर्ने बताउनुभएको छ । सोनाम ल्होछारका अवसरमा आज टुँडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सवमा उहाँले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा मात्रै सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताउनुभयो।

‘म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नूस्, यसको वरिपरि गोलबन्द हुनूस्,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘फेरि हामी शक्तिशाली हुने छौँ, आन्दोलनका बाँकी कार्यभार पूरा हुनेछन्।’ आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा सात सय ५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूप कार्यालयको स्थापनामा महत्वपूर्ण काम भएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो।

हालै मात्र राष्ट्रिय समन्वय परिषद्का दुईवटा बैठक सम्पन्न भएका बताउँदै प्रधानमन्त्री प्रचण्डले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिनुभयो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सङ्घीयताको सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखिएको छ, सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐनलगायत ऐन पारित गर्न उच्च महत्व दिएको छु। प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’

पहिचान र अधिकार स्थापित गर्ने संविधान जारी गर्न दशौँ हजार योद्धाले बलिदान गरेका स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशिला खडा हुन सक्छ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ।’ प्रधानमन्त्री प्रचण्डले अबको सङ्घीय मन्त्रिपरिषद् पुनःगठनका क्रममा बागमती प्रदेशमा तामाङ समुदायबाट सरकारमा प्रतिनिधित्व गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो। सोनाम ल्होछार मनाउन तामाङ समुदायलाई सरकारका तर्फबाट प्रदान गरिने सहयोगलाई वृद्धि गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

प्रधानमन्त्रीले सोनाम ल्होछारले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकताबद्ध भई अगाडि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले तामाङ समुदायको मुख्य पर्व ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू