अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

पाकिस्तानको संसदीय चुनावमा इमरान खान समर्थित उम्मेदवारको अग्रता

बिआरटीनेपाल २०८० माघ २६ गते ६:१९ मा प्रकाशित

पाकिस्तानमा हिजो भएको आमचुनावमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक–ए–इन्साफ (पीटीआई) समर्थित उम्मेदवारले अग्रता लिएका छन् ।पीटीआईमाथि प्रतिबन्ध लागेपछि नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पाकिस्तानको निर्वाचन आयोगका अनुसार अहिलेसम्म एक सय ४६ सिटको नतिजा घोषणा भएकोमा पीटीआई समर्थित उम्मदेवारले ६० सिटमा जितेका छन् । यस्तै पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन) ले ४३ र बिलवाल भुट्टो तथा आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपल्स पार्टी (पीपीपीले) ले ४२ सिटमा जितेका छन् । यसैगरी अन्यले छ सिट जितेका निर्वाचन आयोगले जनाएको छ ।

पाकिस्तानको संसदमा तीन सय ३६ सिट रहेकोमा अहिले दुई सय ६५ सिटमा चुनाव भएको हो । ७० सिट समानुपातिक प्रणलीमा विजयी हुन्छन् । सरकार बनाउनका लागि कम्तीमा एक सय ३३ सिट जित्नुपर्छ । राज्यका सूचना बेचेको, उपहार बेचेको, असंवैधानिक विवाह गरेको लगायतका मुद्दामा ३४ वर्ष जेल सजाय तोकिएका पूर्वप्रधानमन्त्री खान अहिले जेलमा हुनुहुन्छ । पीटीआई समर्थित अन्य कतिपय नेताहरूले पनि जेलबाटै चुनावमा प्रतिस्पर्धा गरेका छन् ।

चुनावी मैदानमा आएका नयाँ अनुहार र खानले जेलभित्रबाटै सञ्चालन गरेको चुनावी अभियान प्रभावकारी देखिएकाे पाकिस्तानी राजनीतिक विश्लेषकहरूले बताएका बीबीसीले जनाएको छ । पीटीआईले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ मा आफूहरू बहुमत पाउने बाटोमा रहेको दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू