अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

संसदमा फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

बिआरटीनेपाल २०८० माघ २४ गते ५:०६ मा प्रकाशित

संघीय संसदको तेस्रो अधिवेशनको शुरुमै प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले आगामी फागुन ६ गते आइतबार सो कार्यक्रम हुने जानकारी गराउनुभएको हो । उहाँले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सो प्रश्नोत्तर कार्यक्रम तय गरिएको पनि बताउनुभयो ।

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सांसदहरुले आगामी फागुन २ गते अपरान्ह ३ बजेभित्र संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेय समक्ष आफ्नो प्रश्न लिखित रुपमा उपलब्ध गराउन पनि सांसदहरुलाई सूचित गरिएको छ ।

प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था नियमावलीमा छ । सोहीअनुसार आगामी फागुन ६ गते पनि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू