अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

अमेरिकासँग भारतले ४ अर्ब डलर बराबरका ३१ वटा अत्याधुनिक लडाकु ड्रोन किन्ने

बिआरटीनेपाल २०८० माघ १९ गते ८:०७ मा प्रकाशित

अमेरिकी विदेश मन्त्रालयले भारतलाई ‘एमबी क्यू ९ बी’ अत्याधुनिक ड्रोन बेच्ने सम्झौतालाई अनुमोदन गरेको छ । पेन्टागनले यो सम्झौताअनुसार मानवरहित विमान, मिसाइल र त्यसमा जडान गरिएका अन्य उपकरण पनि भारतलाई बेच्ने जानकारी दिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार भारत र अमेरिकाबीच झन्डै चार अर्ब डलरको यो सम्झौताको बारेमा छ वर्षदेखि वार्ता चलिरहेको थियो । भारत रुससँग नजिक भइरहेको भन्दै अमेरिकाले भारतकसँग रिसाएको सङ्केत दिइरहेको थियो । यसलाई कम गर्न भारतले अमेरिकासँग ड्रोन किन्ने सम्झौता गरेको चर्चा भएको छ ।

यस सम्झौतामा अमेरिकी विदेश मन्त्रालयको सहमति प्राप्त गर्नु भारतका लागि ठूलो सफलता भएको रोयटर्सले जनाएको छ । अमेरिकी सांसदहरूले यस सम्झौतालाई सहमति दिनुअघि भारतले अमेरिकामा शिख पृथकतावादी गुरपतवन्त सिंह पन्नुको हत्याको बारेमा जवाफ दिनुपर्ने बताएका थिए । भारतले नै पन्नुको हत्या गरेको सांसदहरूको आरोप छ । यो विषयमा अनुसन्धान हुने राष्ट्रपति जो बाइडेनबाट आश्वासन पाएपछि मात्रै सांसदहरूले ड्रोन बेच्ने विषयमा सहमति दिएका थिए ।

ड्रोन निर्माण कम्पनी जनरल एटोमिक्स एरोनोटिकलले ‘एमबी क्यू ९ बी’ आधुनिक रडार प्रणाली र सेन्सरबाट सुसज्जित रहेको बताएको छ । यो स्वतः उड्न र अवतरण गर्न सक्छ, स्याटेलाइटको सहायताले नियन्त्रण गर्न सकिन्छ र सबै प्रकारका मौसममा दिनरात ४० घण्टाभन्दा बढी समयसम्म उडान गर्न सक्छ । २१ सय ५५ किलोग्राम वजन लिएर उड्ने यो ड्रोनले पाइलटहरूद्वारा उडाइएका लडाकु विमानहरूले जस्तै शत्रुको लक्ष्यमा मिसाइल र गोलाबारुद प्रहार गर्न सक्षम रहेको कम्पनीको दाबी छ । कुल ३१ वटा ड्रोनमध्ये १५ वटा भारतीय नौसेनालाई र आठ/आठ वटा ड्रोन सेना र वायुसेनालाई दिइनेछ । भारतले यी ड्रोन प्राप्त भएपछि आफ्नो सेना र सुरक्षा प्रणाली थप अत्याधुनिक बन्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू