अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५० | Colorodo: 00:05

कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ माथि चर्चा

बिआरटीनेपाल २०८० पुष २३ गते २१:३३ मा प्रकाशित

डलास, अमेरिका । कृष्ण कुसुमको पार्श्वधुन पछिल्लो समय डायस्पोराबाट नेपाली साहित्यले पाएको उत्कृष्ट कृति भएको समीक्षकहरुले बताएका छन् ।

अन्तराष्ट्रीय नेपाली साहित्य समाज ड्यालस अमेरिकाको आयोजनमा आइतबार भएको परिचर्चा कार्यक्रमका वक्ताहरुले प्रवासी जनजीवनका बिषयलाई मिहिन ढंगले उतार्न कथाकार कुसुम सफल भएको धारणा व्यक्त गरेका छन् । 

कार्यक्रममा समिक्षकको रुपमा लेखक शतिश त्रिपाठीले कथाकारको लेखनलाई झण्डै दुइ दशक देखि नियाल्दै आएको र कुसुमले कथासंग्रहको रुपमा पहिलो संग्रहमा नै उत्कृष्ट पुस्तक दिन सफल भएको टिप्पणी गरे । उनले संग्रहमा संग्रहित तेह्रै वटा कथाको बिषयले आफूलाई छोएको बताए । साथै हरेक कथाहरुमा उपकथाहरु जोडिएर आएको कुरा उल्लेख गर्दै हरेक कथा उपकथासंग्रह भएकोले यौटै कथामा पनि बिबिध बिषय समेटिएकाले यो संग्रह आफूलाई बिशेष लागेको कुरा व्यक्त गरे ।

त्यसै गरि अर्का वक्ता निर्मला राइले पार्श्वधुनका कथा सरल भाषामा लेखिएको आफ्नै वरपरका कथाहरु भएकोले सबै कथामा आफ्नै कुराहरु आएको टिप्पणी गरिन् । यौटा पुरुष लेखकले महिलाको कुराहरु महिलाले जस्तै न्याय गरेकोमा कथाकारलाई धन्यवाद दिइन् । साथै कुसुमका कथामा प्रयोग गरिएको बिम्बहरुले आफूलाई पूर्वी पहाडको वाल्यकालमा पुराएको भन्दै कथाकारको लेखनशैलीको प्रशंसा गरिन् ।

कार्यक्रमका अन्तिम टिप्पणीकार भिम कार्कीले पार्श्वधुनमा विदेशी परिवेश / नेपाली राजनीति/ सामाजिक चेतना र मनोविज्ञान गरि चारवटा बिषय सजीव रुपमा चित्रण भएको व्याख्या गरे । कति कथा पढ्दा आफैंलाई जिरिंग बनाएको बताऊँदै कथाकार बिषय छनौटमा ऑंटिलो भएको र उठाएको बिषयलाई राम्रो संग न्याय गर्न सफल भएको कुरा बताए ।

अन्त्यमा लेखकले आफू एक असन्तुष्ट पाठक भएको र सो असन्तुष्टि पुरा गर्न अरुले लेख्न छुटाएको बिषयलाई प्रमुख बिषय बनाएर आफूले कथा लेखेको बताए ।

झण्डै सय जनाको हाराहारिक उपस्थिति रहेको सो कार्यक्रमको संचालन अनेसास ड्यालस च्याप्टरका उपाध्यक्ष सुमन काजीले गरेका थिए भने उपस्थित समुहलाई संस्थाका सचिव पवन लामिछानेले स्वागत गरेका थिए ।

प्रतिक्रिया