अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

यस वर्ष मुस्ताङबाट ४९ करोड रुपैयाँको स्याउ निकासी

बिआरटीनेपाल २०८० मंसिर २२ गते ५:५४ मा प्रकाशित

मुस्ताङबाट यस वर्ष  ४९ करोड रुपैयाँभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ ।स्याउ जोन मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले जिल्लाभर चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएकोमध्ये चार हजार चार सय ७७ दशमलव पाँच मेट्रिक टन स्याउ देशका विभिन्न ठाउँमा निकासी भएको बताउनुभयो ।

कृषकले बिक्री गरेको सरदर प्रतिकिलो एक सय १० रुपैयाँका दरले हिसाब गर्दा ४९ करोड २५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको स्याउ निकासी भएको स्याउ जोन कार्यालयले जनाएको छ ।मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोसेलीका रुपमा स्याउ किनेर लैजाने गर्छन् । म्याग्दी, बागलुङ, पोखरा, चितवन, बुटवल, काठमाण्डौलगायत सहरका व्यापारीले बगैँचामा स्याउ नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा खरिद गर्ने गर्छन् ।

धादिङबाट स्याउ खरिद गर्न मुस्ताङ पुगेका व्यापारी शिवाङ तामाङले बेनी, बागलुुङ र पोखराका बजारमा मुुस्ताङको स्याउको माग उच्च हुने गरेको बताउनुभयो । पातलो फले पनि दाना ठूला र स्वादिष्ट रहेको उहाँले बताउनुभयो । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुुकुटी बनाउन प्रयोग हुन्छन् ।

मुस्ताङमा रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती गरिएको छ । मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएका स्याउका बोटले उत्पादन दिने गरेको छ । करिब ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू