अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

‘अर्थतन्त्रमा हुँदै नभएको संकट देखाएर जनता आतंकित पारियो’- प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० मंसिर २२ गते ५:४८ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा हुँदै नभएको संकट भनेर जनतालाई आतंकित बनाउने काम गरेको आरोप लगाउनुभएको छ । शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम महत्वसलाई सम्बोधन गर्दै उहाँले मौद्रिक नीतिको समीक्षाले सबै भ्रम चिर्ने जिकिर गर्नुभयो । अर्थतन्त्र दबाबमा भएपनि केही महिनाभित्र लयमा जाने उहाँको विश्वास छ । सरकार, निजी क्षेत्र, विज्ञबाट समेत बिस्तारै अर्थतन्त्रले लय पक्रिने सकारात्मक संकेत देखा परेको बताएका प्रधानमन्त्रीले जिकिर गर्नुभयो ।

‘केही नकारात्मक चिन्तन बोकेकाले हुँदै नभएको संकटलाई संकट–संकट भनेर जतालाई आतंकित गर्ने प्रयास गरेका छन् । अर्कोतर्फ सरकार, निजी क्षेत्र र विज्ञहरूबाट अर्थतन्त्रले बिस्तारै लय पक्रिन लागेको संकेत देखिएको बताउँदै आएका छन्’, प्रधानमन्त्रीले भन्नुभयो, ‘अझै अर्थतन्त्र केही दबाबमा रहेता पनि आत्तिनुपर्ने अवस्था छैन । बिस्तारै लयमा जाँदै छ । विदेशी मुद्रा संचिति बढ्दै गएको छ । रिमिट्यान्स वृद्धि हुँदै गएको छ । त्यसकारण अराजक नकारात्मक सोच भएकाहरूले भ्रम छर्ने काम गरेका छन् ।’

त्यस्तै राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्र सुधारका लागि महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास गगर्नुभयो । प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि आफूले यसअघि नै मौद्रिक नीतिसम्बन्धी बोर्डको बैठकले सरकारका सम्बन्धित निकाय, निजी क्षेत्रका प्रतिनिधिहरू, अर्थतन्त्रका विज्ञहरू, प्रतिपक्ष र सत्ता पक्षलाई बोलाएर गम्भीर छलफल गरेर केही निष्कर्ष निकालेको जिकिर समेत गर्नुभयो ।

‘बैंकको ब्याजदर घटाउने, लघुवित्तका समस्या समाधान गर्ने, सहकारीका समस्या समाधानका बारेमा ऋण तिर्न चाहने इमान्दार तर बाध्यतामा परेकाहरुलाई पुर्नतालिका बनाएर उनीहरूलाई सहजीकरण गर्ने बारेमा केही निर्देशन दिएको थिएँ । त्यतिबेला राष्ट्र बैंक, सहकारी र लघुवृत्तलाई पनि भनेको थिएँ । त्यही निर्णयका आधारमा बिहान मौद्रिक नीति आएको छ । यसले महत्त्वपूर्ण प्रगति भएको विश्वास मैले गरेको छु’, प्रधानमन्त्रीले भन्नुभयो । यद्यपि मौद्रिक नीति पुरै पर्याप्त छ भन्न ठान्दिन तर आजको निर्णयले अर्थतन्त्रमा जे जटिलता थियो त्यसलाई सहजीकरण र अर्थतन्त्रमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू