अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 19:23

एसिसि यु-१९ एशिया कप शुक्रबारदेखि यूएईमा सुरु हुँदै

बिआरटीनेपाल २०८० मंसिर १९ गते ५:२७ मा प्रकाशित

नेपालको युवा टोलीले आगामी मंसिर २२ गते (शुक्रबार)देखि सुरु हुने एसिसि यु-१९ एशिया कपको सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ । नेपाली यु-१९ क्रिकेट टोलीका कप्तान देव खनालले मंगलवार एक कार्यक्रममा टेस्ट राष्ट्रलाई हराउँदै समूहचरण पार गर्ने बताएका छन् । आगामी शुक्रवारदेखि सुरु हुने एशिया कपमा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा छ । तर पनि नेपाली टोली यो समूहबाट सेमिफाइनलमा पुग्ने आशा गरेको छ ।

समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् । कप्तान खनालले यसअघि पनि नेपालले भारतको यु-१९ टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहोर्‍याउन आतुर रहेको बताउनुभयो । उहाँले सिनियर टोलीले पनि राम्रो गरिहेको र आफूहरु पनि एक एक खेलमा ध्यान दिएर अगाडि बढ्ने बताउनुभयो ।भारत र पाकिस्तानविरुद्ध राम्रो रन बनाउनु वा विकेट लिनु भनेका सबै यु–१९ टोलीका लागि राम्रो अवसर पनि रहेको कप्तान खनालले धारणा राख्नुभयो । त्यसैले सबै जना यो समूहमा राम्रो नतिजासँगै राष्ट्रिय टोलीको यात्रा बनाउन पनि आतुर रहेको बताउनुभयो ।

प्रतियोगिता मंसिर २२ देखि पुष १ गतेसम्म संयुक्त अरब इमिरेट्स(युएई) मा हुँदैछ । अर्को समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र युएइ छ । त्यसैले समूह ‘बी’ को तुलनामा समूह ‘ए’ नेपालजस्तो एसोसिएट राष्ट्रका लागि निकै चुनौतिपूर्ण हो । कप्तान देवले एसिसी यु–१९ एशिया कपमा नेपालको मुख्य लक्ष्य टेस्ट टोलीलाई हराउँदै सेमिफाइनलमा पुग्ने आशा व्यक्त गर्नुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज आयोजना गरेको बिदाई कार्यक्रममा नेपाली टोलीका कप्तान देवसँगै प्रशिक्षक जगत टमटाले बिना दबाबमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू