अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

बिआरटीनेपाल २०८० मंसिर १९ गते ५:२४ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)ले आफ्नो राष्ट्रिय महाधिवेशन आगामी २०८१ साल जेठमा मात्रै गर्ने भएको छ । मंगलबार काठमाडौंमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले माघको १४ र १५ गतेका लागि तय गरेको पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो ।पार्टीको महाधिवेशन जेठको पहिलो साता काठमाडौंमा हुने गरी मिति सारिएको पार्टीका उपमहासचिव डा.गंगालाल तुलाधरले जानकारी दिनुभयो । त्यसैगरी बैठकले पार्टीको महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरुको मस्यौदा तयार पार्नका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वको २७ सदस्यीय मस्यौदा कमिटी पनि बनाएको छ ।

पार्टीका पदाधिकारीसहितका नेताहरुलाई सो मस्यौदा कमिटीमा राखिएको पनि तुलाधरले बताउनुभयो । नेकपा एसले माघ १४ र १५ गते भने पार्टीको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बैठकले सो सम्मेलनका लागि विधानको व्यवस्था गर्न पार्टीका उपाध्यक्ष एवं संगठन विभाग प्रमुख वेदुराम भुसालको नेतृत्वमा महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहनुभएको कार्यदल पनि गठन गरेको छ ।

त्यसैगरी सो राष्ट्रिय सम्मेलनको व्यवस्थानका लागि उपमहासचिव गंगालाल तुलाधरको नेतृत्वमा अर्को एउटा कमिटी पनि बनाइएको छ । मंसिरको २८ र २९ गते पुनः सचिवालयको बैठक पनि बोलाउने निर्णय गरिएको छ । पौषको नौ गते स्थायी कमिटी, १० गते पोलिटब्युरो र ११ र १२ गते केन्द्रिय कमिटीको बैठक बसी राष्ट्रिय महाधिवेशन र राष्ट्रिय सम्मेलनमा प्रश्तुत हुने एजेण्डाबारे छलफल गर्ने निर्णय पनि बैठकले गरेको उपमहासचिव तुलाधरले बताउनुभयो । सचिवालय बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू