अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४० | Colorodo: 23:55

नेपालकाे हवाई क्षेत्र ईयूकाे कालोसूचीबाट नहट्नुमा नेपाल एअरलाइन्सको दोष छैन : प्रवक्ता पौडेल

बिआरटीनेपाल २०८० मंसिर १८ गते ६:०४ मा प्रकाशित

नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले नेपालको हवाई क्षेत्रलाई युरोपियन युनियन (ईयू) ले कालोसूचीबाट नहटाउनुमा आफ्नो कुनै दोष नरहेको दाबी गरेको छ । ईयूकाे पछिल्लो अडिट रिपोर्टमा पनि नेपालको हवाई क्षेत्र कालोसूचीबाट नहट्नुमा निगम जिम्मेवार रहेको भनी केही सञ्चारमाध्यममा समाचार आएकाे भन्दै निगमका प्रवक्ता रमेश पौडेलले आपत्ति जनाउनुभएकाे हाे ।

आज साेमवार न्युज एजेन्सी नेपालसँग प्रतिक्रिया दिँदै प्रवक्ता पाैडेलले ईयूकाे प्रतिवेदन नेपालको समग्र हवाई क्षेत्रकै अडिट गरेर आएकाले त्यसमा निगमको कमजोरी भन्न नमिल्ने तर्क गर्नुभयो । उहाँले निगमको कमजोरीलाई ईयूले औँल्याएर नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राखेको भए नेपालका अन्य वायु सेवा प्रदायक संस्थाहरूले ईयूबाट उडान अनुमति पाउने प्रावधान रहेको बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘नेपाल वायु सेवा निगमको कारणले नेपालकाे हवाई क्षेत्र ईयूकाे कालाेसूचीमा परेकाे भनेर प्रचार गरिएको छ । यो प्रचारमा सत्यता छैन । यसमा ईयूले नागरिक उड्डयनलाई नै अडिटकाे क्षेत्रको रूपमा लिएको हो । र नमुनाका रूपमा एअरलाइन्सहरूलाई लिएको हो । ईयूकाे अडिट रिपाेर्टमा यो यो कारणले तिमीले सुधार गर्नुपर्छ, अहिले सुधार नदेखिएको कारणले कालोसूचीबाट हटाउन हामी असमर्थ छौँ भनेर प्रष्टसँग लेखेकाे छ । यसाे हुनुमा नेपाल एअरलाइन्सकाे कारण हाेइन । वायु सेवा निगमकाे कारणले समग्र हवाई क्षेत्र कालाेसूचीमा परेकाे हाेइन ।’

प्रवक्ता पौडेलले ईयूको कालोसूचीबाट नेपालको हवाई क्षेत्रलाई हटाउनका लागि सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्नेमा आवश्यकता पनि औँल्याउनुभयो । ईयूले २९ नोभेम्बर २०२३ मा सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको हवाई क्षेत्रलाई फेरि पनि कालोसूचीमा राखिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू