अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानकाे ५ लाख रुपैयाँ दिन्छाैँ : मन्त्री किराती

बिआरटीनेपाल २०८० मंसिर १७ गते ६:५१ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने कामलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ । नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसँग आज आइतवार मन्त्रालयमा मन्त्री किरातीले गाैतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले प्रत्येक उडानको पाँच लाख रुपैयाँ प्रोत्साहनस्वरूप दिनेगरी सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान जतिसक्दो छिटो गर्नेगरी हामी लागिरहेका छौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई प्रोत्साहनस्वरूप पाँच लाख रुपैयाँ प्रत्येक उडानको दिने तयारी गरिरहेका छौँ ।’ मन्त्री किरातीले नेपाल वायु सेवा निगमको जहाज भैरहवा पठाउन मन्त्रालय तयार रहेको बताउनुभयो । ‘हामीसँग जहाज कम छन् तर भैरहवा र पोखराबाट उडान नगरि हुँदैन । त्यसका लागि हामी तयार छौँ, तपाईँहरूजस्तो पर्यटन व्यवसायीले सकारात्मक सहयोग गर्नुहोस्’, उहाँले भन्नुभयो ।

उहाँले राज्यको ४३ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको भैरहवाको गौतमबुद्ध विमानस्थल र त्यही विमानस्थल देखेर ६५÷७० अर्ब रुपैयाँ लगानी गरेको निजी क्षेत्रका बारेमा सरकार चिन्तित रहेको समेत बताउनुभयो ।मन्त्रीसँगको छलफलमा नाट्टा लुम्बिनीका अन्तर्राष्ट्रिय हवाई यातायात समन्वय समितिका संयोजक सञ्जीव जोशीले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको थालनी तत्काल गर्न माग गर्नुभयो ।

नाट्टा लुम्बिनीका तर्फबाट नौ बुँदे ज्ञापनपत्र बुझाउँदै निवर्तमान अध्यक्ष सागर अधिकारीले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल वायु सेवा निगमको जहाजले थालनी गर्नुपर्नेमा जोड दिनुभयो । अधिकारीले भन्नुभयो, ‘नेपाल वायु सेवा निगमको जहाज भैरहवा– दिल्ली, भैरहवा–काठमाण्डौ शुरु गराउनूस् हामी सिट भरेर पठाउँछौँ ।’  नाट्टा लुम्बिनीको प्रतिनिधिमण्डलले आज नै नेपाल वायु सेवा निगमका नायब महाप्रबन्धक जनकराज  कालाखेतीलाई समेत ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू